News जस्ट जोनको दमदार जितसँगै खजुरा गोल्डकपमा सेमिफाइनल समीकरण पूरा
गोलनेपाल

खजुरा । बाँकेको खजुरा गाउँपालिका वडा नं. ४ डी गाउँस्थित मिनी रंगशालामा जारी एमटी एरिना प्रथम खजुरा गोल्डकप–२०८२ अन्तर्गत आज सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा जस्ट जोन एफसी, नाइजेरियाले सशस्त्र प्रहरी बल (एपीएफ), काठमाडौंलाई ३–० ले पराजित गर्दै शानदार रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ। खेलको सुरुआतदेखि नै आक्रामक देखिएको जस्ट जोनले ८औँ मिनेटमा ताजुद्दीन अकिनशोलाको गोलबाट अग्रता लियो भने ४१औँ मिनेटमा ओवोलाबी अफिजले पेनाल्टीमार्फत दोस्रो गोल थप्दै पहिलो हाफ २–० ले आफ्नो पक्षमा पार्यो ।

दोस्रो हाफमा पनि जस्ट जोनले आफ्नो लय कायम राख्दै ६०औँ मिनेटमा ओवोलाबी अफिजले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे। एपीएफले खेलमा फर्किने प्रयास गरे पनि नाइजेरियन टोलीको मजबुत डिफेन्स र आक्रामक खेलका कारण गोल गर्न असफल रह्यो। उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई अग्रता दिलाएका ताजुद्दीन अकिनशोला ‘म्यान अफ द म्याच’ घोषित भए।

यस जितसँगै खजुरा गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ, जहाँ गोर्खा ब्याइज क्लब, बुटवल (रुपन्देही), जेबीएम् फुटबल एकेडेमी, लखनउ (भारत), फोर ब्रदर्स फुटबल क्लब, नवलपरासी र जस्ट जोन एफसी, नाइजेरिया उपाधि नजिक पुगेका छन्। प्रतियोगिता न्यू डाँफे स्पोर्ट्स क्लब, खजुरा–बाँकेको आयोजनामा सञ्चालन भइरहेको हो भने मुख्य प्रायोजक एमटी एरिना स्पोर्ट्स वेयर रहेको छ। चैत्र ३० देखि वैशाख ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले नगद रु. ७ लाख तथा उपविजेताले रु. ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

Post Comments