इलाम । न्युरोडटिम (एनआरटी), काठमाडौं इलाममा जारी एनआरएनए तेस्रो इलाम गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा एनआरटीले रोलिङ क्लब, धुलाबारी, झापालाई पेनाल्टी शुटआउटमा हराउँदै फाइनलमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
निर्धारित समयतर्फ पहिलो हाफको इन्जुरी समयमा बिज्ञान खड्काको गोलबाट एनआरटीले खेलमा अग्रता बनाएको थियो । तर अन्तिमतिर ८२औं मिनटमा फागुराम थारुले रोलिङका लागि बराबरी गोल फर्काएका थिए । यद्यपि पेनाल्टी शुटआउटमा भने एनआरटी ४–३ ले विजयी बन्यो । खेलमा एनआरटीका गोलरक्षक बिशाल सुनार प्लेयर अफ द म्याच बने ।
अब एनआरटीले बैशाख १२ गते शनिबारका दिन हुने फाइनलमा मच्छिन्द्र फुटबल क्लब, काठमाडौंसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दियो ।
रेड हर्ष फुटबल क्लब, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।