बुटवल । रोमाञ्चक जितको नतिजा निकाल्दै समपूर्ण युवा क्लब, सुपौली रुपन्देहीमा जारी दोस्रो लखन कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।
आइतबार सम्पन्न तेस्रो प्रिक्वाटरफाइनलमा समपूर्णले न्यु युथ युनियन क्लब, तानसेन, पाल्पालाई ३–२ ले हराउँदै अन्तिम आठमा आफ्नो स्थान पनि सुरक्षित गरेको हो ।
बुटवल १० स्थित रामनगर खेलमैदानमा भएको खेलमा समपूर्णका लागि सन्देश यादव, सुगम ठकुरी र आश्विन पुनले गोल गरे । पराजित न्यु युथ युनियनका लागि भने सन्तोष घर्ती र सन्दिप केसीले गोल फर्काएका थिए । खेलमा समपूर्णका लागि शुरुवाती गोलकर्ता सन्देश यादव प्लेयर अफ द म्याच बने ।
प्रतियोगिता अन्तर्गत बैशाख १४ गते सोमबारको चौथो प्रिक्वाटरफाइनल खेल विभागीय टोली तारा दल गण, बुटवल र योङ ब्वाईज एफसी, देवदह बीच हुने खेल संयोजक राम थापाले जानकारी दिए ।
लखन ब्रदर्श युवा क्लब, बुटवल ८, सुख्खानगर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुदिप खत्रीले जानकारी दिए । फाइनल खेल भने यही बैशाख २२ गतेका दिन हुनेछ ।