News आयोजक लखन ब्रदर्श र चाँदनी दोस्रो लखन कपको सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । आयोजक लखन ब्रदर्श युवा क्लब, बुटवल र चाँदनी युवा क्लब, दानापुर रुपन्देहीमा जारी दोस्रो लखन कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बुधबारको दोस्रो क्वाटरफाइनलतर्फ फर्साटिकर युवा क्लब र आयोजक लखन ब्रदर्श बीचको खेल प्रतिकुल मौसमले बिथोलिएपछि रोकिएकै समयबाट बिहीबार पूनः खेलाइएको थियो । जसमा लखन ब्रदर्शले पेनाल्टी शुटआउटमा जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्यो । निर्धारित समयतर्फ दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि पेनाल्टी शुटआउटमा लखन ब्रदर्श २–१ ले विजयी बन्यो ।

निर्धारित समयतर्फ फर्साटिकरका लागि बिबेक थारुले गोल गरेका थिए भने लखनका लागि निशान्त क्षेत्रीले गोल फर्काएका थिए । पेनाल्टी शुटआउटमा भने लखन विजयी बन्यो । खेलमा लखन ब्रदर्श कै गोलरक्षक निशान राना म्यान अफ द म्याच बने ।

त्यस्तै बिहीबार भएको तेस्रो क्वाटरफाइनलतर्फ चाँदनी युवा क्लबले समपूर्ण युवा क्लब, सुपौलाीलाई १–० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो । चाँदनीको जितमा सम्राट श्रीसले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच भने चाँदनीका कप्तान सुनिल थापा घोषित भए ।

प्रतियोगिता अन्तर्गत बैशाख १८ गते शुक्रबारको अन्तिम क्वाटरफाइनल खेल तारादल गण, बुटवल र सुनवल फुटबल क्लब, सुनवलबीच हुने खेल संयोजक राम थापाले जानकारी दिए ।

लखन ब्रदर्श युवा क्लब, बुटवल ८, सुख्खानगर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुदिप खत्रीले जानकारी दिए । फाइनल खेल भने यही बैशाख २२ गतेका दिन हुनेछ ।

 

Post Comments