बुटवल । सुनवल फुटबल क्लब, सुनवल (नवलपरासी), रुपन्देहीमा जारी दोस्रो लखन कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।
आइतबार सम्पन्न दोस्रो सेमिफाइनलमा सुनवलले आयोजक लखन ब्रदर्श युथ क्लब, बुटवललाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा सुनवल ८–७ ले विजयी बन्यो ।
खेलमा सुनवलका बिज्ञान गुरुङ म्यान अफ द म्याच घोषित भए । सुनवलले अब यही बैशाख २२ गते मंगलबारका दिन हुने फाइनलमा साविक विजेता देवदह ब्वाईजसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने खेल संयोजक राम थापाले जानकारी दिए ।
लखन ब्रदर्श युवा क्लब, बुटवल ८, सुख्खानगर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुदिप खत्रीले जानकारी दिए ।