News पुर्वेली भेट्रान्स चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा
गोलनेपाल

शिवशताक्षी । शिवशताक्षी नगरपालिका झापामा अवस्थित दुधे रङ्गशालामा दुधे भेट्रान्स क्लबको आयोजनामा जारी चौथो स्वर्गीय कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कप अन्तर्गत शनिबार प्रतियोगिताको अन्तिम प्रि क्वाटरफाइनल र प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेल सम्पन्न भएका छन्।

अन्तिम प्रि क्वाटरफाइनल खेलमा आयोजक दुधे भेट्रान्सले आफ्नो घरेलु मैदानमा पाहुना टोली फिदिम भेट्रान्स पाँचथरसँग संघर्षपूर्ण जित हाँसिल गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो। निर्धारित समय दुवै टोलीले दुई दुई गोलको बराबरी खेलेका थिए। किसान शेर्मा र विनोद खरेलको समान एक एक गोल मद्दतमा अग्रता लिएको आयोजकले उक्त नतिजालाई लामो समय टिकाउन सकेन। उता पाहुना टोली फिदिमका लागि कमब्याक बराबरी गर्ने क्रममा कप्तान देउमान लिम्बुले पहिलो गोल गर्दा राजन सुब्बाले दोस्रो गोल गरेका हुन्।

त्यसै क्रममा खेल पेनाल्टी सुट आउट हुँदै सडन डेथ सम्म पुग्दा घरेलु टोलीले पाहुना टोलीलाई ६-५ को नतिजामा पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको छ। फिदिमका गोल रक्षक भुपेन्द्र थापाको प्रहार क्रसबारमा लाग्दै फर्किएपछि फिदिम भेट्रान्सको उपाधि यात्रामा पूर्णविराम लागेको हो। उक्त खेलमा आयोजक टोलीका मिलन राई नायक साबित हुँदै नगद रु.२००० सहित ट्रफी प्राप्त गरेका छन्।

प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेल अन्तर्गत पुर्वेली युवा क्लब र कन्काई भेट्रान्स प्रतिस्पर्धा गर्दा ३-१ को स्पष्ट जितसहित पुर्वेली सेमीफाइनल प्रवेश गरेको छ। पुर्वेलीको जितमा सन्तोष राईले दुई गोल गर्दा सन्तोष बस्नेतले एक गोल गरेका हुन्। पराजित भएको कन्काईका लागि मित्रप्रसाद श्रेष्ठले एक गोल फर्काएका थिए। उक्त खेलमा दुई गोल गरेका सन्तोष राई नायक साबित हुँदै नगद रु.२००० प्राप्त गरे।

आइतबार प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेलमा बिर्तामोड झापा भेट्रान्स र दमक लखनपुर भेट्रान्स दिनको ठिक ३ बजे प्रतिस्पर्धा गर्नेछन्।

Post Comments