News कपिलवस्तुको फुटबलले पायो नेपाल ब्रदर्शको साथ
सुरज राना मगर

कपिलवस्तु । फुटबलमा क्रमिक रुपमा अघि बढ्ने जमर्को गरेको कपिलवस्तु जिल्ला फुटबल संघले स्थानीय फुटबल विकासमा सहकार्यका लागि नेपाल ब्रदर्शको साथ पाएको छ ।

कपिलवस्तु जिल्ला फुटबल संघ र नेपाल ब्रदर्श इण्डष्ट्रिज प्रा.लि. ले एक बर्षका लागि फुटबल विकासमा सहकार्य गर्नका लागि सम्झौता गरेका छन् । सम्झौतापत्रमा फुटबल संघका तर्फबाट अध्यक्ष तिलक थापाले हस्ताक्षर गरे भने नेपाल ब्रदर्शका लागि सिइओ ध्रुव नेपालले हस्ताक्षर गरेका थिए ।

सम्झौता बमोजिम नेपाल ब्रदर्शले कपिलवस्तु जिल्ला फुटबल संघलाई ५० हजार नगद सहित फुटबल, जर्सी, फुटबल लगायत विभिन्न खेलकुद सामाग्रीहरु उपलब्ध गराउने छ । साथै फुटबल संघले विघिन्न प्रतियोगिताहरुमा सहभागिता जनाउँदा नेपाल ब्रदर्शको नाम र लोगो अंकित जर्सी प्रयोग गर्नेछ ।

त्यति मात्र नभएर नेपाल ब्रदर्शले फुटबल संघले सहभागिता जनाउने विभिन्न फुटबल प्रतियोगिताहरुमा सहभागि टोलीका खेलाडीहरुको आवश्यक यातायात र अन्य खर्च पनि उपलब्ध गराउने छ ।

सम्झौतापत्रमा हस्ताक्षर गरेपछि नेपाल ब्रदर्शका सिइओ ध्रुव नेपालले व्यवसायसँगै खेलकुद क्षेत्रसँग पनि जोडिन पाउँदा खुशी व्यक्त गरे । उनले जिल्लाको खेलकुद विकासमा आफूहरुले सकेको सहयोग र समर्थन गर्ने पनि बताए । साथै सिइओ नेपालले फुटबल संघसँग स्थानीय फुटबल विकासमा आगामी दिनहरुमा पनि यस्ता सहकार्यहरुलाई निरन्तरता दिने बताए ।

उता कपिलवस्तु जिल्ला फुटबल संघको नेतृत्व सम्हाले यता आफूलाई निरन्तर जिल्लाको फुटबल गतिविधीमा व्यस्त राखेका अध्यक्ष तिलक थापाले सम्झौता र सहकार्यका लागि नेपाल ब्रदर्शलाई धन्यवाद दिए । अध्यक्ष थापाले यस्ता सहकार्यले फुटबल मात्र नभएर अन्य खेलकुद क्षेत्रले पनि अगाडी बढ्न अवसर पाउने बताए ।

जिल्लाको फुटबल विकासमा आफूहरु निरन्तर सक्रिय रहेको बताउँदै अध्यक्ष थापाले स्थानीय खेलाडीहरुलाई फुटबलमा लाग्न वातावरण सिर्जना गरेर उनीहरुलाई फुटबल खेलेरै आत्मनिर्भर बनाउन प्रयास गर्ने समेत बताए ।

 

Post Comments