News अब खेलाडीहरुको नियमित मुटु परिक्षण हुने
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुले अब फुटबल म्याच खेल्नु अघि नियमित आफ्नो मुटुको परिक्षण गर्न पाउने भएका छन् । मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) र शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रबीच यसबारे सम्झौता समेत भएको छ ।

गंगालाल अस्पताल मै भएको सम्झौतापत्र हस्ताक्षर र आदानप्रदान कार्यक्रमका एन्फाको तर्फबाट केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पा र अस्पतालको तर्फबाट कार्यकारी निर्देशक चन्द्रमणि अधिकारीले हस्ताक्षर गरे ।

सम्झौताअनुसार अस्पतालले अब खेलाडीहरुको नियमित मुटु परिक्षण गर्नेछ । यसको अर्थ अस्पतालले हरेक उमेर समूहका पुरुष तथा महिला फुटबल खेलाडीहरुको मुटुको अवस्था परिक्षण गर्नेछ । त्यसमा एकेडेमीमा रहेका प्रशिक्षार्थी खेलाडीहरु पनि पर्ने छन् ।

उता एन्फाले पनि अस्पतालसँग कार्डियोलोजी अध्ययन र अनुसन्धानका लागि आवश्यक सहयोग र सहकार्य गर्न एन्फाले जनाएको छ । एन्फा अध्यक्ष शेर्पाले खेलाडीहरु पूर्ण फिट रहनु फुटबलमा निकै महत्वपूर्ण हुने बताए । साथै उनले खेलाडीहरु फिट रहन उनीहरुको मुटु पनि स्वस्थ हुनुपर्ने औंल्याए ।

त्यस्तै मुटु अस्पतालका कार्यकारी निर्देशक चन्द्रमणि अधिकारीले यस किसिमको सम्झौता नेपाल मै पहिलो भएको बताए । अहिलेसम्म कसैले पनि खेलाडीहरुको मुटुको अवस्थाबारे हेक्का नराखेको बताउँदै आफूहरुले यसबारे जानेको कुरा खेलाडीहरुको स्वास्थ्यमा सही रुपले प्रयोग गर्ने बताए ।

सोही अवसरमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका सुजल श्रेष्ठ, रन्जित धिमाल, बिशाल राई, देवेन्द्र तामाङ, अजित भण्डारी लगायत २० खेलाडीहरुको मुटु परिक्षण समेत गरिएको थियो ।

कार्यक्रममा एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंह, महासचिव इन्द्रमान तुलाधर लगायत एन्फाका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । साथै अस्पतालका स्टाफ र चिकित्सकहरुको पनि उपस्थिति रहेको थियो ।

Post Comments