बुटवल । स्वास्थ्य पेशामा आवद्ध रहेर पनि निरन्तर खेलकुदमा सक्रिय रहेका युवाहरुको समूहद्वारा स्थापित दि फार्मा टिम, बुटवलको आयोजनामा हुने छैठौं फार्मा कप फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ ।
तिलोत्तमा नगर स्थित मोनालिसा फुटसलमा हुने प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पूरा भएको बुधबार एक कार्यक्रमका बीच आयोजकले जानकारी गराएको हो ।
प्रतियोगितामा स्वास्थ्य पेशामा आवद्ध रहेकाहरुले मात्र सहभागिता जनाउन पाउने खेल संयोजक प्रकाश न्यौपानेले बताए । साथै प्रतियोगितामा यसपटक रुपन्देहीसहित कास्की, चितवन र दाङका गरी कुल १६ टोलीहरुले सहभागिता जनाउने पनि खेल संयोजक प्रकाश न्यौपानेले जानकारी दिए ।
एक दिने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
आउँदै गरेको महान चाड बडा दशैं र शुभ(दिपावलीको अवसर पारी स्वास्थ्य पेशामा आवद्ध रहेकाहरुबीच खेलकुदको माध्यमबाट भाईचारा, मनोरञ्जन र शुभकामना आदानप्रदान गर्ने उद्देश्यमा साथ प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिइएको खेल संयोजक प्रकाश न्यौपानेले बताए ।