News चरङ्गे युथ क्लब सेमिफाइनलमा प्रवेश
गोलनेपाल

कुञ्जलापुर । रुपन्देहीको तिलोत्तमामा जारी ३८ औं झरना रनिङ सिल्ड नकआउट फुटबल प्रतियोगितामा चरङ्गे युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न निकै प्रतिस्पर्धात्मक क्वार्टरफाइनल खेलमा फर्साटिकर युवा क्लबमाथि ४–१ गोल अन्तरको शानदार जित निकाल्दै चरङ्गेले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो।

खेलको पहिलो हाफमा फर्साटिकर युवा क्लबले सुरुवाती अग्रता लिएको थियो। फर्साटिकरका लागि वीरबहादुर थारुले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाए पनि त्यो धेरै समय टिक्न सकेन। चरङ्गेका सोलोमन किङले उत्कृष्ट गोल गर्दै खेललाई १–१ को बराबरीमा फर्काए। पहिलो हाफकै थप गरिएको समय (इन्जुरी टाइम) मा चरङ्गेका अविनाश स्याङ्ताङले अर्को उत्कृष्ट गोल गरेपछि पहिलो हाफमा चरङ्गे २–१ ले अघि रह्यो।

दोस्रो हाफमा पनि चरङ्गेले आफ्नो दबाब कायम राख्यो। चरङ्गेका बाबा टुन्डेले गोल गर्दै टोलीको अग्रता ३–१ मा पुर्‍याए। खेलको अन्तिमतिर चरङ्गेका लागि सोलोमन किङले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै ४–१ को सहज जित पक्का गरे। खेलमा उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत दुई गोल गरेका चरङ्गेका सोलोमन किङ आजको खेलको ‘म्यान अफ द म्याच’ घोषित भए।

Post Comments