News फेदाप गाउॅपालिका तेह्रथुम फङफङदेन झरनामा जारी अलैँची कप फुटबलको फाइनलमा प्रवेश
गोलनेपाल

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४, साँवा स्थित पर्यटकीय गन्तव्य फङफङदेन झरनामा जारी पर्यटन तथा सांस्कृतिक मेलाअन्तर्गतको अलैँची कप आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा फेदाप गाउॅपालिका तेह्रथुम फाइनल प्रवेश गरेको छ ।

शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक फङफङदेन झरना पर्यटन बिकास समितिलाई १-० गोलले पराजित गर्दै फेदापले फाइनल यात्रा तय गरेको हो ।

फेदापका लागि एक मात्र निर्णायक गोल निशान राइले गरे ।उनै निशान खेलको प्लेयर अफ दि म्याच घोषित भए ।

त्यस्तै शुक्रबार नै सम्पन्न अन्तिम क्वाटरफाईनलमा मरिक एफसी धरानले ग्रीन भ्याल्ली क्लब मेरिङदेन ६ नाल्बुलाई ८-३ गोलले पराजित गर्दै सेमिफाइनलमा कुम्मायक कुस्सायक स्पोर्टिङ क्लब पॅाचथरसॅगको भेट पक्का गरेको छ ।
खेलको प्लेयर अफ दि म्याच मरिकका कृष राई घोषित भए ।

दुवै खेलका प्लेयर अफ द म्याचले जनही ३ हजार रुपैयाँ बराबरको अलैँची पुरस्कार प्राप्त गरे।

प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनल खेल शनिबार हुनेछ ।

फङफङदेन झरना पर्यटन विकास समितिको आयोजनामा मंसिर २ देखि ६ गतेसम्म सञ्चालन भइरहेको मेलाको मुख्य आकर्षण अलैँची कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता रहेको छ।

प्रतियोगिताको विजेताले ३ लाख २ हजार ८३ रुपैयाँ बराबरको अलैँची प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५२ हजार ८३ रुपैयाँ बराबरको अलैँची पुरस्कार पाउनेछ।

फुटबलसँगै मेलामा स्थानीय कला, संस्कृति, भेषभूषा झल्किने सांस्कृतिक कार्यक्रम तथा राष्ट्रियस्तरका कलाकारहरूको सांगीतिक प्रस्तुति पनि समावेश गरिएको छ।

ताप्लेजुङको प्रमुख नगदेबाली अलैँचीलाई खेलकुद र पर्यटनसँग जोड्दै यसको बजार तथा पहिचान विस्तार गर्नुका साथै प्राकृतिक सौन्दर्यले भरिपूर्ण फङफङदेन झरनालाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ। मेलाले स्थानीय कृषि उत्पादन, पर्यटन, संस्कृति तथा आर्थिक गतिविधिको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

Post Comments