बर्दगोरिया । कैलालीमा सुदूरपश्चिम प्रदेशव्यापी विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता २०८३ को मंसिर ४ गते भव्य उद्घाटन गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यतामा कोटागढी खेलमैदानमा प्रतियोगिताको समुद्घाटन भएको हो।
उद्घाटन खेलमा बाल बाटिका विद्यामन्दिर, बर्दगोरियाले सर्वोदय विद्यामन्दिर, गप्का, लम्कीचुहालाई ३–० गोलअन्तरले पराजित गर्दै प्रि–क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्यो। बाल बाटिकाका कप्तान छत्र बमले दुई तथा मिलन देवकोटाले एक गोल गरे। दुई गोल गरेका छत्र बम खेलको प्लेयर अफ द म्याच घोषित भए।
दोस्रो खेलमा कलम बम मेमोरियल स्कुल, पहलमानपुर, घोडाघोडीले बालकन्या माध्यमिक विद्यालय, कट्टिपुरलाई ५–१ गोलअन्तरले पराजित गर्यो। विजेता टोलीका विशाल बोहराले ह्याट्रिक पूरा गर्दा सौगात धामीले फ्रिकिकमार्फत र कृष्णप्रसाद गौतमले एक–एक गोल गरे। बालकन्याका उमेश प्याकुरेलले एक गोल फर्काए। ह्याट्रिककर्ता विशाल बोहरा प्लेयर अफ द म्याच घोषित भए। दुवै विजेता टोलीले प्रि–क्वार्टरफाइनलमा स्थान बनाएका छन्।
बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा मंसिर ४ देखि १३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु. १ लाख २१ हजार र उपविजेताले रु. ६१ हजार प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीलाई रु. १५ हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही रु. १० हजार प्रदान गरिनेछ। त्यसैगरी, फेयर प्ले अवार्ड प्राप्त गर्ने टोलीलाई रु. ५ हजार र प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई रु. १ हजार प्रदान गरिनेछ।
प्रतियोगिताअन्तर्गत मंसिर ५ गते चार खेल हुनेछन्। पहिलो खेलमा वसन्त मुरारी माध्यमिक विद्यालय, बर्दगोरिया र क्याम्ब्रिज इङ्लिस बोर्डिङ स्कुल, लम्कीचुहा भिड्नेछन्। दोस्रो खेलमा खड्ग मेमोरियल सेकेन्डरी स्कुल, टीकापुर र नोबेल सेकेन्डरी स्कुल, बौनियाबीच प्रतिस्पर्धा हुनेछ। तेस्रो खेलमा उज्यालो शिक्षा सदन, लम्की र पायोनियर्स स्कुल, लम्कीचुहा आमनेसामने हुनेछन्। चौथो खेलमा कृष्ण माध्यमिक विद्यालय, बाघमारा र हेभन गार्डेन, जोशीपुर भिड्नेछन्।
प्रतियोगिताको फाइनल खेल मंसिर १३ गते हुनेछ। प्रतियोगिताका सम्पूर्ण खेलहरू गोलनेपाल डटकमको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण भइरहेका छन्।