News नव प्रतिभा सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । नव प्रतिभा युवा क्लब रुपन्देहीको सैनामैनामा जारी दोस्रो न्यु इरा कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा मुर्गिया एफसीको चुनौति २–१ ले समाप्त पार्दै नव प्रतिभा अन्तिम चारमा प्रवेश गरेको हो ।

सैनामैना–१ बनकट्टा स्थित स्थानीय खेलमैदानमा सम्पन्न खेलको १४औं मिनटमै ओम प्रकाश थापाले बक्स भित्रबाट गरेको आकर्षक गोलको सहयोगमा नव प्रतिभाले खेलमा अग्रता बनाएको थियो । यद्यपि दोस्रो हाफको २१औं मिनटमा बिकल केसीले मुर्गियाका लागि बराबरी गोल फर्काउन सफल भएका थिए ।

खेल १–१ को बराबरीतर्फ नै लम्किरहेका बेला नव प्रतिभाका लागि खेलको अन्तिमतिर इन्जुरी समयमा प्रकाश पुनले निर्णायक गोल गर्दै टोलीको रोमाञ्चक जितका साथ सेमिफाइनल यात्रा सुनिश्चित गरेका थिए । खेलमा निर्णायक गोल गरेका नव प्रतिभाका प्रकाश पुन नै म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत फागुन २० गते बिहीबारको अन्तिम क्वाटरफाइनल खेल सोरौली एफसी, र सिमानगर एफसीबीच हुने प्रतियोगिता संयोजक सुनिल शाहीले जानकारी दिए ।

नव युग युवा क्लब, सैनामैना–१, बनकट्टाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष तुल तरामुले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल भने यहि फागुन २५ गतेका दिन हुनेछ ।

 

Post Comments