News क्षितिजको ह्याट्रिकसँगै भैरवलाई उपाधि
गोलनेपाल

बुङ्ची । क्षितिजराज जिटीले ह्याट्रिक गरेपछि भैरव स्पोर्टस क्लब, नवलपरासी प्रथम सुर्योदय कप खुला नकआउट फुटबल प्रतियोगिताको विजेता बनेको छ ।

भैरवले फाइनलमा आयोजक सुर्योदय सामाजिक विकास संस्थालाई शून्यका विरुद्ध ५ गोलको फराकिलो अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो । भैरवको जितमा खेलको २८ र ३७औं मिनटमा अनुप गुरुङले लगातार दुई गोल गर्दै टोलीलाई खेलमा दोहोरो अग्रता दिलाएका थिए ।

४०–४० मिनटको खेलाइएको फाइनल खेलतर्फ दोस्रो हाफमा पनि हावी बनेको भैरवका लागि क्षितिजराज जिटीले ४४, ५२ र ६५औं मिनटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे भने पाहुना टोलीको शानदार जित पनि सुनिश्चित गरे । ह्याट्रिककर्ता जिटी फाइनल खेलको म्यान अफ द म्याच समेत चुनिए ।

विजेता बनेको भैरवले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्यो भने उपविजेताले आयोजक सुर्योदयले ५५,५५५ रुपैयाँमा चित्त बुझायो । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी आयोजकका रोशन सेन घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक र डिफेन्डर भैरवका क्रमशः प्रदिप भण्डारी र केशव दर्लामी चुनिए ।

उत्कृष्ट मिडफिल्डर आयोजक सुर्योदयका सबी गुरुङ घोषित भए भने सर्वाधिक गोलकर्ता पनि आयोजक कै सुरज हमाल घोषित भए । सुर्योदय सामाजिक विकास संस्था, बुङची, कपिलवस्तुको आयोजनामा गत फागुन ७ गतेदेखि शुरु प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु र पाल्पाका गरि कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments