News मधुवन नगरपालिका फाइनलमा
गोलनेपाल

बढैयाताल । मधुवन नगरपालिका यहाँ जारी दोस्रो बर्दिया जिल्ला पालिका कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा मधुवनले बासगढी नगरपालिकालाई २–० ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।

बढैयाताल–८ स्याउलीबजार स्थित बर्दिया खेलमैदानमा भएको खेलमा मधुवनका लागि प्रमित राना र अजित लामाले एक–एक गोल गरे । खेलमा मधुवनका अजित लामा म्यान अफ द म्याच समेत चुनिए । उनले त्यसवापत नगद १ हजार पुरस्कार हात पार्न समेत सफल भए ।

प्रतियोगिता अन्तरगत फागुन २० गते बिहीबारको दोस्रो सेमिफाइनल खेल आयोजक तथा दावेदार बढैयाताल गाउँपालिका र गेरुवा गाउँपालिका बीच हुने प्रतियोगिता संयोजक शम्शेर मल्लले जानकारी दिए ।

कालिका सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, बढैयाताल–८ स्याउलीबजार, बर्दियाको आयोजनामा भईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ । फाइनल खेल यहि फागुन २२ गतेका दिन हुनेछ ।

Post Comments