News गजेन्द्र स्मृति महिला फुटबलः पीवाईसी पाँचथर विजयी
रमेश समदर्शी

आठराईस्थित खाम्लालुङ खेलमैदानमा बुधबारदेखि स्व. गजेन्द्र इस्वो स्मृति रनिङ महिला फुटबल प्रतियोगिता सुरु भएको छ ।

महिलातर्फको उद्घाटन खेलमा पीवाईसी पाँचथर विजयी भएको छ । आठराई संयुक्त क्लब तेह्रथुमलाई १ ० गोलले पराजित गर्दै पीवाईसी सेमिफाइनलमा प्रवेश गरेको छ ।

पीवाईसीका लागि खेल सकिन एक मिनेट बाँकी हुँदा स्मृति राईले निर्णायक गोल गरेकी थिइन् । उनी म्यान अफ दी म्याच घोषितहुँदै नगद १ हजार पाउन सफल भइन् ।

महिलातर्फ ६ वटा टिम सहभागी छन् । भोलि (बिहीबार) अवतारी बागदल स्पोर्टि क्लब फूलबारी आठराई संक्रान्ति बजारबीच खेल हुनेछ ।

आयोजक आठराई २ नम्बर वडा कार्यालय, खाम्लालुङ खेलकुद विकास समिति हङकङ र कालिका आविको संयुक्त आयोजनामा भएको प्रतियोगितामा महिलातर्फको विजेताले नगद ६० हजार र उपविजेताले ४० हजार, ट्रफी पाउनेछ ।

Post Comments