News उपाधिका लागि वडा नम्बर १० र १८ भिड्ने
बिक्रम बानियाँ क्षेत्री

हेटौंडा । हेटौंडाको हुप्रचौरमा जारी मेयर कप फुटबल प्रतियोगिता–२०७७ को उपाधिको लागि डिफेण्डिङ च्याम्पियन १० नम्बर वडा र १८ नम्बर वडा भिड्ने भएका छन् ।

शनिबार भएको सेमीफाइनल खेलबाट जित निकाल्दै १० र १८ ले उपाधि भिडन्त पक्का गरेका हुन् । सेमीफाइनलमा १० ले १३ लाई र १८ ले ५ नम्बर वडालाई टाइब्रेकरमा स्तब्ध पार्दै उपाधि भिडन्त पक्का गरेको हो ।

१० र १३ नम्बर वडाबीचको खेल निर्धारित समय १–१ गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत निर्णय लिइएको थियो । निर्धारित समयतर्फ १० नम्बरको तर्फबाट ८औं मिनेटमा सुमन छुमीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उता १३ को तर्फबाट सनुअल सुनारले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

बाँकी समय दुवै टोलीको तर्फबाट थप गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा १० को तर्फको सुमन छुमी, विजय लामा, आशिष लामा र प्रितम स्याङ्बोले गोल गरेका थिए भने १३ को तर्फबाट कप्तान श्री स्याङ्तानको प्रहार मात्रै गोलमा परिणत भएको थियो । खेलमा १० नम्बर वडाका गोलरक्षक दिपेश गोले म्यान अफ द म्याच भए ।

यस्तै दोस्रो सेमीफाइनलमा ५ नम्बर वडालाई टाइब्रेकरमा स्तब्ध पार्दै १८ ले फाइनल भिडन्त पक्का गरेको हो । सुरुवाती अग्रता जोगाउन नसक्दा ५ नम्बर वडा पराजित हुन बाध्य भएको थियो । ५ को तर्फबाट मिलन अर्यालले २६औं मिनेटमा गोल गरेका थिए । यद्यपि १८ का विमल घलानले गोल गर्दै खेललाई बराबरीमा ल्याए । टाइब्रेकरमा १८ ले ५–४ को जित निकालेको हो । ५ को तर्फबाट टीका चौलागाइँ, मिलन अर्याल, सुमन अर्याल र सञ्जिव अर्यालले मात्रै गोल गरेका थिए । मनोज बिष्ट र निसान भुषालको प्रहार गोल हुन सकेन ।

त्यस्तै १८ का लागि सुनिल घलान, कृष्णबहादुर गुरागाइँ, राजेश पाण्डे, आयुर घलान र अनिष रोक्काले गोल गरेका थिए । सुदिप लोको प्रहार भने गोल हुन सकेन । खेलमा १८ नम्बर वडाका अनिष रोक्का म्यान अफ द म्याच भए ।

फाइनल खेल सोमबार हुनेछ । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाको सहभागिता रहेको थियो ।

Post Comments