News मधुवन नगरपालिकालाई उपाधि
गोलनेपाल

बढैयाताल । दोस्रो बर्दिया जिल्ला पालिका कप नकआउट फुटबल प्रतियोगिताको उपाधि मधुवन नगरपालिकाले जित्न सफल भएको छ । फाइनलमा गेरुवा गाउँपालिकालाई १–० ले हराउँदै मधुवन उपाधि विजेता बनेको हो ।

बढैयाताल–८ स्याउलीबजार स्थित बर्दिया खेलमैदानमा सम्पन्न प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा मधुवनका लागि ६०औं मिनटमा शम्भु थारुले एक मात्र निर्णायक गोल गरे ।

फाइनल खेलको म्यान अफ द म्याच मधुवनका हिमाल गुरुङ घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार र ट्रफी हात पारे । त्यस्तै विजेता बनेको मधुवनले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्यो भने उपविजेता गेरुवाले ५५,५५५ रुपैयाँमा चित्त बुझायो ।

शंकर बने सर्वोत्कृष्ट खेलाडी

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मधुवनका शंकर थारु घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार र ट्रफी हात पारे । त्यसैगरी उज्ज्वल घिमिरे उदीयमान खेलाडी चुनिए । उनले त्यसवापत नगद २ हजार र ट्रफी प्राप्त गरे ।

कालिका सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, बढैयाताल–८, स्याउलीबजार बर्दियाको आयोजनामा यहि फागुन १५ गतेदेखि शुरु प्रतियोगितामा बर्दियाजिल्लाका कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments