News टाईगरलाई पन्छाउँदै भैरव सेमिफाइनलमा
सुरज राना मगर

नयाँबस्ती । भैरव एफसी, नवलपरासी थिङकिङ मोटर्स दोस्रो भरतपुर २४ गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार सम्पन्न तेस्रो क्वाटरफाइनलतर्फ टाईगर चोक युथ क्लबलाई ०–२ ले हराउँदै भैरवले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

भरतपुर–२४ स्थित सिद्धार्थ माविको खेलमैदानमा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । भैरवका लागि पहिलो गोल दोस्रो हाफको ३२औं मिनटमा डेविड थापाले गरे । त्यस्तै खेलको अन्तिमतिर केशव दर्लामीले दोस्रो गोल थप्दै भैरवको जित सुनिश्चित गरेका थिए ।

खेलमा टाईगर चोकले पटक–पटक पाएको राम्रा अवसरहरुलाई सदुपयोग गर्न नसक्नु पनि टोलीको हारको कारण बन्न पुग्यो । खेलमा भैरवका गोलरक्षक सिर्जन श्रेष्ठले पनि केही राम्रा बचाउ गरे । श्रेष्ठ नै खेलको म्यान अफ द म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तरगत चैत ३ गते मंगलबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल सेन्ट्रल कलेज भरतपुर एफसी र रोदिज्ञा स्पोर्टस गैंडाखोला–११ बीच हुने आयोजकले जनाएको छ ।

खेलकुद विकास समिति, भरतपुर–२४ को आयोजना तथा भरतपुर महानगरपालिका वार्ड नम्बर २४ को सह–आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँ प्राप्त गर्ने आयोजकका समितिका सह–सचिव रमेश पुरीले बताए ।

चितवन, नवलपरासी, नवलपुर, रुपन्देही र मकवानपुुरका गरि कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने यहि चैत ७ गतेका दिन हुने समेत पुरीले बताए ।

Post Comments