News 'सुपर सब' नवराज चम्किदा गैंडाखोला सेमिफाइनलमा
सुरज राना मगर

नयाँबस्ती । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका नवराज गुरुङले दुई गोल गरेपछि उत्कृष्ट पूनःरागमनका साथ रोदिज्ञा स्पोर्टस गैंडाखोला–११ थिङकिङ मोटर्स दोस्रो भरतपुर २४ गोल्डकपको सेमिmाइनलमा प्रवेश गरेको छ ।

भरतपुर–२४ स्थित सिद्धार्थ माविको खेलमैदानमा सम्पन्न चौथो तथा अन्तिम क्वाटरफाइनलमा गैंडाखोलाले दावेदार मध्ये एक मानिएको सेन्ट्रल कलेज भरतपुर एफसीमाथि ३–१ को प्रभावशाली जित निकाल्यो । यद्यपि खेलमा शुरुवाती अग्रता भने भरतपुरले नै लिएको थियो ।

पहिलो हाफको २९औं मिनटमा फोडे फोफनाले भरतपुरका लागि गोल गर्दै टोलीलाई खेलमा अग्रता दिलाएका थिए । तर भरतपुरले त्यो अग्रता पहिलो हाफसम्म मात्र कायम राख्न सक्यो । दोस्रो हाफमा भने गैंडाखोलाले सनसनीपूर्ण रुपमा नतिजा आफ्नो पक्षमा पार्यो ।

वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका नवराज गुरुङले दोस्रो हाफको दशौं र २६औं मिनटमा लगातार दुई गोल गर्दै गंैंडाखोलालाई खेलमा २–१ को स्थितिमा पुर्याए । त्यस्तै खेलको अन्तिमतिर कप्तान सजिन थापा मगरले बक्स भित्रबाट सटिक गोल गर्दै गैंडाखोलाको ३–१ को रोमाञ्चक जित पक्का गरेका थिए ।

सोमबारको खेलमा गैंडाखोलाका लागि निर्णायक भूमिका खेलेका नवराज गुरुङ म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद २ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत चैत ४ गते मंगलबारको पहिलो सेमिफाइनल खेल सैनामैना युवा क्लब, रुपन्देही र भैरव एफसी, नवलपरासीबीच हुने आयोजकले जनाएको छ ।

युवा तथा खेलकुद विकास समिति, भरतपुर–२४ को आयोजना तथा भरतपुर महानगरपालिका वार्ड नम्बर २४ को सह–आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँ प्राप्त गर्ने आयोजक समितिका सह–सचिव रमेश पुरीले जानकारी दिए ।

प्रतियोगिताको फाइनल खेल भने यहि चैत ७ गतेका दिन हुनेछ ।

Post Comments