
नेपालगञ्ज । एन्फा प्रेसिडेन्ट लिगतर्फ त्रिवेणी युवा क्लब, लमजुङले रोमाञ्चक जित निकाल्दै तीन अंक जोडेको छ । त्रिवेणीले आइतबार सम्पन्न खेलमा लेकाली युवा क्लब, जुम्लालाई २–१ ले हराउँदै महत्वपूर्ण अंक जोड्न सफल भयो ।
नेपालगञ्ज रंगशालामा सम्पन्न खेलको १७औं मिनटमा बिमल रानाको गोलबाट त्रिवेणीले खेलमा अग्रता लिएको थियो । यद्यपि त्यसको दुई मिनट लगतै भुपेन्द्र शाहीले लेकालीका लागि बराबरी गोल फर्काएका थिए ।
खेल प्रतिस्पर्धात्मक बराबरीतर्फ लम्किरहेकी बेला खेलको अन्तिमतिर सन्त बहादुर गुरुङले निर्णायक गोल गर्दै त्रिवेणीलाई रोमाञ्चक जित दिलाएका थिए । जारी लिगमा त्रिवेणीले दोस्रो खेल जित्दै ६ अंक बटुलेको छ । उता लेकाली युवा क्लबले भने तीन खेलबाट १ अंक मात्र जोडन सकेको छ ।
खेलमा जुम्लाका भुपेन्द्र शाही म्यान अफ द म्याच घोषित भए । उनलाई एन्फाका पुर्व उपाध्यक्ष गोर्वधन सिह सम्झनाले नगद ५ हजार र ट्रफी सहित पुरस्कृत गरे ।
यहि चैतको १५ गते सम्म चल्ने प्रतियोगितामा सात प्रदेशका सात टोलीहरुले सहभागिता जनाईरहेका छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।