
नयाँबस्ती । रोदिज्ञा स्पोर्टस गैंडाखोला–११ यहाँ सम्पन्न थिङकिङ मोटर्स दोस्रो भरतपुर–२४ गोल्डकप नकआउट फुटबल प्रतियोगिताको विजेता बनेको छ ।
शनिबार सम्पन्न फाइनल भिडन्तमा गैंडाखोलाले भैरव एफसी, नवलपरासीमाथि २–० को जित निकाल्दै उपाधि जित्न सफल भएको हो ।
भरतपुर–२४ स्थित सिद्धार्थ माविको खेलमैदानमा सम्पन्न खेलको छैंटौ मिनटमै सरोज दहालको हेड गोलबाट गैंडाखोलाले खेलमा अग्रता बनाएको थियो । त्यस्तै दोस्रो हाफको १८औं मिनटमा प्रयास तामाङले दोस्रो गोल थप्दै गैंडाखोलाको जित सुनिश्चित गरेका थिए ।
विजेता बनेको गैंडाखोलाले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्यो भने उपविजेता भैरवले १,०१,१११ रुपैयाँमा चित्त बुझायो । विजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका सांसद राजीव गुरुङ लगायत अन्य अतिथीहरुले पुरस्कृत गरेका थिए ।
प्रयास तामाङ सर्वोत्कृष्ट खेलाडी
प्रतियोगिताको व्यक्तिगत विधातर्फ विजेता गैंडाखोलाका खेलाडीहरु कै वर्चश्व रह्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी गैंडाखोलाका प्रयास तामाङ घोषित भए । त्यसवापत उनले एक थान माउण्टेन बाइसाईकल हात पारे ।
त्यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्डर र सर्वाधिक गोलकर्ताको पुरस्कार पनि गैंडाखोला कै क्रमशः राजाबाबु मगर, सरोज दहाल र नवराज गुरुङले हात पारे । उनीहरुले जनही ५–५ हजार र ट्रफी हात पारे ।
युवा तथा खेलकुद विकास समिति, भरतपुर–२४ को आयोजना तथा भरतपुर महानगरपालिका वार्ड नम्बर २४ को सह–आयोजनामा गत फागुन २४ गतेदेखि शुरु प्रतियोगितामा चितवनसहित नवलपुर, रुपन्देही, नवलपरासी र मकवानपुरका लागि कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।