News रुपको ह्याट्रिकसहित स्टार सिटीको फराकिलो जित
गोलनेपाल

नेपालगंज । एन्फा प्रेसिडेन्ट लिगमा अपराजित रहेको स्टार सिटी युवा क्लब, कैलालीले बिहीबार लेकाली युवा क्लबमाथि ७–१ को फराकिलो जित निकालेको छ ।

नेपालगंज रंगशालामा सम्पन्न खेलको नवौं मिनटमा रोशन राना मगरको गोलबाट लेकालीले खेलमा अग्रता लिएको थियो । तर आक्रमक रुपमा प्रस्तुत भएको स्टार सिटीका लागि रुप बहादुर लामाले ३६, ५५, ६५, ८२ र ८६औं मिनटमा ह्याट्रिकसहित कुल पाँच गोल गरे ।

त्यस्तै स्टार सिटीका लागि टोप बहादुर बिष्टले ६६औं मिनटमा र ९१औं मिनटमा ऋतिक खड्काले थप एक–एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच स्टार सिटीका लागि पाँच गोल गरेका रुप बहादुर लामा घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी प्राप्त गरे ।

यो जितसँगैं स्टार सिटी १३ अंकका साथ लिगतालिकको शिर्ष स्थानमा छ । उता पराजित लेकाली भने ५ खेलबाट १ अंकका साथ लिगतालिकाको पुछारमा छ ।

यहि चैत्र १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । साथै प्रतियोगिताको शिर्ष चार टोलीहरुले राष्ट्रिय लिगमा समेत प्रतिस्पर्धा गर्नेछन् ।

Post Comments