News रेडहर्ष बन्यो साखेजुङ गोल्डकपको च्याम्पियन
रमेश समदर्शी
इलामको रेडहर्ष एफसी नेपालटारमा आयोजित प्रथम साखेजुङ गोल्डकपको च्याम्पियन बनेको छ ।

नेपालटार माविको खेल मैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा सूर्योदय नगरपालिकाको तिनघरे युवा क्लबलाई १ ० गोलअन्तरले पराजित गर्दै रेडहर्षले उपाधि रक्षा गरेको हो । रोमाञ्चक फाइनल भिडन्तमा पहिलो हाफमा रेडहर्षले पाएको अवसरलाई सदुपयोग गर्दै पासाङ शेर्पाले उत्कृष्ट गोल गरे ।

दुवै टोलीबाट आक्रामक खेल प्रस्तुत भए पनि पासाङको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ दी म्याच रेडहर्षका कप्तान प्रदिप विष्ट घोषित भए । त्यस्तै, रेडहर्षकै माल्दिना आङथुपो सर्वाधिक गोलकर्ता, विनोद क्षेत्री उत्कृष्ट गोलरक्षक र रेशबहादुर गुरुङ उत्कृष्ट प्रशिक्षक घोषित भए ।

चैत ६ गतेदेखि सुरु भएको प्रतियोगिताको उत्कृष्ट खेलाडी तिनघरे युवा क्लबका प्रज्वल राई घोषित भए । विजेता रेडहर्षले नगद १ लाख ११ हजार १११ पाउँदा उपविजेता तिनघरेले नगद ५५ हजार ५५५ र ट्रफीमा चित्त बुझायो ।

इलाम नगरपालिका १ नम्बर वडा कार्यालयको प्रायोजन तथा वडा खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई नगर प्रमुख महेश बस्नेतलगायतले पुरस्कार प्रदान गरेका थिए ।


Post Comments