News स्टार सिटी एक खेल अगावै च्याम्पियन, शुक्रबार मनकामना र सैनिक युथ क्लबको जित
गोलनेपाल
 
मनकामना युवा क्लब रौतहटले एन्फा प्रेसिडेन्ट लिग २०७७ मा त्रिवेणी युवा क्लब लमजुङलाई शुक्रबार २–१ ले पराजित गरेको छ । अर्को खेलमा प्रदेश नम्बर १ को सैनिक युथ क्लब झापाले बागमति प्रदेशको धादिङ समाज धादिङलाई २–० ले पराजित गरेको छ ।

सैनिकको जितमा जीवन गुरुङले ३६ औं मिनेट र सुरज सिंह ठकुरीले ९३औं मिनेटमा गोल गरेका थिए । खेलमा सैनिकका राजेश परियार म्यान अफ द म्याच घोषित भए । उनलाई नुवाकोट फुटबल संघका महासचिव विष्णु प्रसाद चालिसेले पुरस्कृत गरे ।

मनकामनाले खेल जितपछि एक खेल अगावै सुदुर पश्चिमको स्टार सिटी युवा क्लब कैलाली लिग च्याम्पियन बनेको छ ।
 
शुक्रबार मनकामनाको जितमा शुवन बस्नेतले सुरुआतको नबौं मिनेटमा गोल गरेर टोलीलाइ अग्रता दिलाएका थिए । त्यसपछि पेनाल्टी अवसरमा ५८औं मिनेटमा गोल गरेर अग्रतालाई दोब्बर बनाए । भुवन खेलको म्यान अफ द म्याचबाट पुरस्कृत भए । उनलाई बागमति प्रदेश फुटबल संघका वरिष्ट उपाध्यक्ष दिपक चित्रकारले पुरस्कृत गरे । यसैगरी त्रिवेणीका लागि अविशेख लिम्बुले २९आंै मिनेटमा गोल गरे । ५ खेल खेलेको स्टारले १३ अंक जोडेको छ । अब स्टारले आफनो अन्तिम खेल त्रिवेणीसँग खेल्नेछ । त्यो खेलको नतिजा जे आएपनि स्टारसिटी शिर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो । त्रिवेणीले ५ खेलमा ३ जित २ हारको सामना गर्दै ९ अंक जोडेको छ भने मनकामनाले ५ खेलमा २ जितसहित ६ अंक बनाएको छ ।

प्रतियोगिता अन्तर्गत शनिबार लुम्बिनी प्रदेशको धम्बोझी क्लब र कर्णालीको लेकाली युवा क्लब जुम्लाबिच प्रतिस्पर्धा हुनेछ ।

चैतको १५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन ।

अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग । यस प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गरिरहेका छन ।
Post Comments