News अफ्रिकन रुटसलाई नेपालमा पहिलो उपाधि
गोलनेपाल

चितवन । नेपालको पहिलो उपाधि जित्ने क्रममा अफ्रिकन रुटस एसोसिएशनले शनिबार सम्पन्न स्व. विजय खड्गी स्मृति गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबमाथि ३–१ को जित निकाल्दै अफ्रिकनले उपाधिमाथि कब्जा जमाएको हो । नारायणगढ स्थित क्याम्पाचौरमा सम्पन्न खेलमा अफ्रिकनका लागि ३९औं मिनटमा क्वेटेले पहिलो गोल गरेका थिए ।

खेलको ४८औं मिनटमा बासेसले त्यो अग्रता दोब्बर पारे भने ६१औं मिनटमा मौसाले तेस्रो गोल थपे । उता पराजित आर्मीका लागि ७४औं मिनटमा सुशान्त चौधरीले एक मात्र सान्त्वना गोल फर्काए ।

विजेता बनेको अफ्रिकनले उपाधिसहित नगद ३ लाख हात पार्यो भने उपविजेता आर्मीले १ लाख ५० हजारमा चित्त बुझायो । फाइनल खेलको म्यान अफ द म्याच अफ्रिकनका क्वेटे घोषित भए । त्यसवापत उनले नगद ५ हजार प्राप्त गरे ।

मौसा बने सर्वोत्कृष्ट खेलाडी

व्यक्तिगत विधातर्फ अफ्रिकनका मौसा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । त्यसवापत उनले नगद २० हजार र ट्रफी हात पारे । उत्कृष्ट गोलरक्षक पनि अफ्रिकन कै सिल्भियो चुनिए भने उत्कृष्ट डिफेन्डर अफ्रिकनै एन्ग्विीमो घोषित भए ।

त्यस्तै उत्कृष्ट मिडफिल्डर आर्मीका रमेश भुजेल चुनिंदा सर्वाधिक गोलकर्ताको पुरस्कार आर्मीका सुशान्त चौधरीले हात पारे । उत्कृष्ट प्रशिक्षक पनि अफ्रिकन कै सर्जे बोरिस घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने सबैले जनही १०–१० हजार प्राप्त गरे ।

चितवन जिल्ला फुटबल संघको आयोजनामा गत चैत्र १२ गतेदेखि शुरु प्रतियोगितामा विभिन्न जिल्लाका उत्कृष्ट आठ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments