News हामी आक्रमक फुटबल खेल्नेछौंः अब्दुल्लाह
गोलनेपाल

काठमाडौं । आइतबार मात्र नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका कुवेती प्रो लाइसेन्स प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अब डिफेन्सिव फुटबल नखेल्ने स्पष्ट पारेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अब्दुल्लाहलाई आइतबार राष्ट्रिय फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षकका रुपमा सार्वजनिक गरेपछि पत्रकार सम्मेलनमा उनले आफ्नो यस्तो अभिव्यक्ति दिएका हुन ।

आइतबार पत्रकार सम्मेलनमा आत्मविश्वासी देखिएका अब्दुल्लाहले राष्ट्रिय फुटबल टोलीका लागि आफ्नो महत्वाकांक्षी योजना सुनाउन समेत भ्याए । उनले अब नेपालले रक्षात्मक फुटबल नखेल्ने बताए ।

अब्दुल्लाह भन्छन्, "मलाई केही समय चाहिन्छ । तर हामी अब रक्षात्मक फुटबल नखेल्ने स्पष्ट पार्न चाहन्छु । हामी सुन्दर फुटबल खेल्नेछौं । हामी ४–३–३ को रणनीतिमा मैदानमा उत्रिनेछौं । हाम्रो योजना साफ च्याम्पियनसिप नै हो । त्यसका लागि हामी डटेर खेल्नुपर्छ । र म आफ्नो तर्फबाट सक्दो कोशिस र मेहनत गर्नेछु ।"

स्मरण रहोस, कोचिङ इन्स्ट्रक्टर समेत रहेका अब्दुल्लाह कतार एफएको विशेष सहयोगमा चैत्रको शुरुवाततिर नेपाल आएका थिए । उनले कुवेत र साउदी अरबको केही क्लब र किर्गिस्तानको यु–१६ टोलीको जिम्मेवारी समेत सम्हालेका थिए ।

पहिलो जिम्मेवारी विश्वकप छनौट

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकीय जिम्मेवारी सम्हालेपछि अब्दुल्लाहको पहिलो काम विश्वकप छनौटमा नेपालको नेतृत्व गर्नु हुनेछ । नेपालले फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनौट खेलहरुतर्फ तीन म्याचहरु खेल्न बाँकी छ ।

जुन खेलहरु एएफसीले यसअघि नै सेन्ट्रलाईज भेन्युका रुपमा कुवेतमा हुने घोषणा गरिसकेको छ । नेपालले जुन ३ तारीखका दिन चाइनिज ताइपेईसँग खेल्नेछ भने ७ जुनका लागि जोर्डनसँग भिड्नेछ । त्यस्तै ११ जुनका दिन बलियो अष्ट्रेलियासँग खेल्ने पनि तय भइसकेको छ ।

Post Comments