News क्याम्पाचौरमा स्व. जगदीश खड्का स्मृति महिला फूटबल प्रतियोगिता–२०७६ सुरु
गोलनेपाल

नारायणगढको क्याम्पाचौरमा मंगलबारदेखि स्व. जगदीश खड्का स्मृति महिला फूटबल प्रतियोगिता–२०७६ सुरु भएको छ । चितवन जिल्ला फूटबल संघको आयोजना र पञ्चकन्या महिला टिम रत्ननगरको सहआयोजनामा सुरु प्रतियोगिताको पहिलो दिन हानमी एभरेष्ट क्लब बसेनी र पञ्चकन्या महिला टिम ‘ए’ ले विजयी सुरुआत गरेका छन्।

मंगलबारको पहिलो खेलमा एभरेष्टले पञ्चकन्या महिला टिम ‘बी’ लाई ४–० गोलअन्तरले पराजित ग¥यो । २ गोल गरेका एभरेष्टकी सञ्जु कुमाल प्लेयर अफ दी म्याच बनिन् ।

दोस्रो खेलमा पञ्चकन्या टिम ‘ए’ ले भेडाबारी फूटबल क्लबलाई सडन डेथमा पराजित गरेको हो । निर्धारित समयमा १–१ को बराबरी भएपछि गरिएको टाई–ब्रेकरमा पनि ३–३ को बराबरी भएपछिको सडन डेथमा पञ्चकन्याले बाजी मारेको हो । यो खेमलमा उत्कृष्ट प्रदर्शन गरेका पञ्चकन्याकी १२ वर्षीया रीना नेपाली प्लेयर अफ दी म्याच बनिन् । प्लेयर अफ दी म्याच बन्नेले २–२ हजार नगद पाएका छन् ।

मंगलबार जितेका दुवै टिम सेमीफाइनल प्रवेश गरेको प्रतियोगिता संयोजक प्रविन जोशीले जानकारी दिए । प्रतियोगिताको उद्घाटन मुख्य प्रायोजक सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिका प्रमुख वाईबी पौडेलले उद्घाटन गरेका थिए । कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी छन्नुराम चौधरीी, पूर्व फिफा रेफ्री वीरेन्द्र पाण्डे र प्रायोजक भूपू सैनिक ट्रान्सपोर्टका अरुण वन्त विशिष्ट अतिथि रहेका थिए । उद्घाटन कार्यक्रम चितवन जिल्ला फूटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतियोगितामा प्रदेश नम्बर २, ३ र ४ का ४ जिल्लाबाट ८ वटा टिम सहभागी छन् । प्रतियोगितामा चितवनबाट मात्रै ३ टिमले सहभागिता जनाएका छन् । फाइनल २० गते हुनेछ । विजेताले ४० हजार र उपविजेताले २० हजार नगद पुरस्कार र ट्रफी पाउने चितवन जिल्ला फूटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए । त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट फरवार्ड, डिफेण्डर र गोलकिपरलाई जनही ५ हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ ।

प्रतियोगितामा बुधबार बागमती फूटबल क्लब सर्लाहीविरुद्ध अभिषेक चर्च रजहरले र मकवानपुर महिला टिमविरुद्ध बरचुली मावि नवलपुरले प्रतिस्पर्धा गर्नेछन् ।

Post Comments