News प्रथम नाइन ए साईड फुटबल हुने
सुरज राना मगर

चितवन । मोफसलको फुटबलले विस्तारै गति लिने क्रममा चितवनको कालिका नगरपालिकामा खुला नाईन ए साईड नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

गडुवा युथ क्लब, कालिका–१ गडुवा, चितवनको आयोजनामा आगामी असोज ७ गतेदेखि प्रथम नाइन ए साईड खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको हो ।

कालिका नगरपालिका–१ चितवन स्थित आयोजक गडवा युथ क्लबको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४०,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २०,१११ रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक बिशाल रापचा सुनुवारले बताए । साथै अन्य विधागत पुरस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

टिम दर्ता शुल्क ४ हजार तोकिएको बताउँदै संयोजक सुनुवारले प्रतियोगितामा कति टिमले सहभागिता जनाउने अहिले नै निश्चित भई नसकेकोले प्रतियोगिताको फाइनल मिति आफूहरुले अहिले नतोकेको बताए । उनले सहभागि टिमहरुको संख्या निश्चित भएपछि फाइनल खेलको मिति तोक्ने समेत जानकारी दिए ।

गाउँ–ठाउँको फुटबल अनुभव र स्थानीय खेलाडीहरुलाई अहिलेको स्थितिमा खेलकुदको माध्यमबाट स्वस्थ प्रतिस्पर्धा गराउनु आफूहरुको पहिलो प्राथमिकता र सानो प्रयास रहेको संयोजक सुनुवारले बताए । उनी भन्छन्, “स्थानीय खेलाडीहरुलाई स्थानीयस्तर मै अवसर मिलोस भन्ने हाम्रो बुझाई छ । खेलाडीहरुले यहि प्रतियोगितामा मोफसलबाटै आफ्नो प्रतिभा र पहिचान बनाउन सकुन भन्ने हाम्रो योजना पनि छ ।”

उता आयोजक क्लबका अध्यक्ष नेत्र बहादुर गुरुङले प्रतियोगिता आयोजना गरेर सुस्ताएको स्थानीय फुटबललाई फेरि उकास्ने जमर्को गरेको बताए । अध्यक्ष गुरुङ भन्छन्, “मोफसलमा खेलकुदको माहोल बिस्तारै फर्किने क्रममा छ । लामो समयपछि खेलाडीहरु बीच स्वस्थ्य प्रतिस्पर्धा र भाइचारा कायम होस भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न गईरहेका छौं ।”

Post Comments