News राष्ट्रिय फुटसल लिगका लागि कार्पेट विछ्याउने काम सकियो
गोलनेपाल
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा पोखरामा हुन लागेको राष्ट्रिय फुटसल लिगका लागि कार्पेट विछ्याउने काम सकिएको छ ।
 
असोज २ गतेदेखि पोखरा रंगशाला स्थित बहुउदेश्यीय कर्भड हलमा हुने लिगका लागि आवस्यक कार्पेट विछ्याउने देखि सरसफाइको काम समेत सुरु गरिएको छ । एन्फाले देशका ७ वटै प्रदेशमा छनोट चरणका खेलहरुको आयोजना गरेको थियो । जसमा गण्डकी प्रदेशको समेत २ टिमको सहभागिता रहेको छ ।

७ प्रदेशका १० टिमको सहभागिता रहेने लिग असोज २२ गतेसम्पन्न हुनेछ । राउन्डरोविन लिगका आधारमा हुने प्रतियोगिताको लिग चरण भने असोज १९ गतेसम्म हुनेछ । असोज २० र २१ गते नकआउट चरणका खेल हुनेछन् भने २२ गते फाइनल हुनेछ ।

लिगका लागि पोखराका होटलहरु समेत तयारी भइरहेको एन्फाका फुटसल प्रमुख विनोद गुरुङले जानकारी दिए । ‘एन्फाको आयोजनामा पोखरामा राष्ट्रिय फुटसल लिग हुदैँ छ । यो नेपालकै पहिलो फुटसल लिग हो ’ उनले भने,‘ लिगको तयारीमा जुटिरहेका छौ । करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेका छन् । कार्पेट राख्ने काममा सकिएको छ ।’

होटल व्यवस्थापन भइसकेको र सबै खेलाडी, प्रशिक्षक र पदाधिकारीको चरक मेमोरियल अस्पतालमा कोरोना परिक्षण गराएर मात्र लिगमा सहभागि गराउने उनले बताए । यस्तै दर्शकका लागि पनि खोप लगाएकालाई प्रवेश दिनेभन्ने सोच गरेको भएपनि जिल्ला प्रशासन कार्यालय कास्कीसंग समन्वय गरेर मात्र निर्णय लिने बताए । संघले प्रत्येक टिमलाई तयारी खर्च बापत १÷१ लाख रुपैँया प्रदान गरेको उनले जानकारी दिए ।

लिगमा सबैभन्दा बढि बागमती प्रदेशबाट सहभागिता जनाएका छन् । बागमती प्रदेशबाट ४ टिमको सहभागिता रहेको छ । बागमतीबाट ढुकु फुटसल हव, संखमुल फुटसल, प्रभातफेरी युथ क्लब, स्काइ गोल्स फुटसल क्लब रहेका छन् ।

यस्तै गण्डकी प्रदेशबाट स्पोट्र्स क्यासल र सविन मेमोरियल गरी २ टिमको सहभागिता रहेको छ । प्रदेश १ बाट फुटसल ५ धरान, दी राइजिङ क्लब धरान रहेका छन् । यस्तै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट गरी लुम्बिनी फुटसल र झरना स्पोर्टस क्लबको सहभागिता रहने छ ।

लिग विजेताले नगद १० लाख रुपैँया प्राप्त गर्नेछन् । उपविजेताले ५ लाख रुपैँया प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, प्रशिक्षक र उदीयमान खेलाडीले समान २५–२५ हजार रुपैँया प्राप्त गर्नेछन् ।
Post Comments