News नेपालको एसियन कप खेल्ने सपना अधुरै
गोलनेपाल

काठमाडौं । आगामी बर्ष भारतमा हुने एएफसी वुमन्स एसियन कप फुटबल प्रतियोगिता खेल्ने नेपालको सपना फेरि अधुरो बनेको छ । मंगलबार महत्वपूर्ण मानिएको खेलमा हङकङसँग बराबरी खेलेपछि नेपालको त्यो सपना अधुरो बनेको हो ।

उज्वेकिस्तानमा जारी एएफसी वुमन्स एसियन कपको छनौट प्रतियोगिता अन्तरगत समूह एफमा रहेको नेपालले आफ्नो सम्भावनालाई कायम राख्न मंगलबार जित्नै पर्ने दबाब थियो । तर तश्केन्ट स्थित जार स्टेडियममा हङकङ विरुद्धको खेल गोलरहित बराबरीमा सकियो ।

यद्यपि नेपाली महिला फुटबलको इतिहासमा नेपाली फुटबल टोलीले बलियो हङकङलाई पहिलोपटक बराबरीमा रोक्न भने सफल भएको हो । मंगलबारको नतिजासँगै नेपाल समूह चरणबाटै समेत बाहिरिएको छ ।

नेपालले आफ्नो पहिलो खेलमा फिलिपिन्ससँग जित नजिक पुगेर पनि २–१ ले पराजित हुन पुग्नु महँगो साबित भइदियो । समूह एफको अन्तिम खेल शुक्रबार फिलिपिन्स र हङकङ बीच हुनेछ । यी दुई टोलीबीचको खेलको नतिजाले नै समूह एफबाट आगामी बर्ष हुने एएफसी वुमन्स एसियन कप खेल्ने एक टोलीको टुंगो लाग्नेछ ।

समूह एफमा एक खेलबाट ३ अंक जोडेको फिलिपिन्स शिर्ष स्थानमा छ । त्यस्तै हङकङ पनि एक खेलबाट एक अंक जोड्दै दोस्रो स्थानमा छ भने दुई खेलबाट १ अंक मात्र जोडेको नेपाल पुछारमा छ ।

 

Post Comments