News निशानको ह्याट्रिकसँगै एभरेष्ट फाइनलमा
गोलनेपाल

बराहक्षेत्र । निशान लिम्बुले ह्याट्रिक गरेपछि प्रभावशाली जित निकाल्दै एभरेष्ट फुटबल क्लब, बराहक्षेत्र–३ नडाहा जारी प्रथम चतरा नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार सम्पन्न दोस्रो सेमिफायनलमा हाटखोला फुटबल क्लब, बराहक्षेत्र–२ हाटखोलालाई ५–२ ले हराउँदै एभरेष्टले फाइनलमा जे.एस.वाई.सी. मोरङसँगको भेट पक्का गरेको हो ।

चतरा खेलमैदानमा सम्पन्न खेलमा शुरुवाती अग्रता हाटखोलाले नै लिएको थियो । खेल शुरु भएको तेस्रो मिनटमै बर्तमान राईको गोलबाट अग्रता लिएको हाटखोलाले त्यसलाई जोगाउन सकेन ।

११औं मिनटमा निशान लिम्बुले एभरेष्टका लागि बराबरी गोल फर्काए । १९औं मिनटमा संजय श्रेष्ठले एभरेष्टको अग्रता २–१ मा पुर्याए । निशान लिम्बुले २३ र २८औं मिनटमा थप दुई गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे भने क्लबलाई ४–१ को स्थितिमा ल्याए ।

त्यस्तै दोस्रो हाफको दोस्रो मिनट मै युवराज श्रेष्ठले एभरेष्टका लागि पाँचौं गोल थपे । पाँचौं गोल खाएको दश मिनटपछि हाटखोलाका लागि दिपेश तामाङले दोस्रो गोल फर्काए तापनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

खेलको म्यान अफ द म्याच एभरेष्टका ह्याट्रिककर्ता निशान लिम्बु घोषित भए । उनलाई आयोजक चतरा फुटबल क्लबका उपाध्यक्ष शंकर राईले नगदसहित पुरस्कृत गरे ।

एभरेष्टले फाइनलमा असोज १७ गते आइतबार जे.एस.वाई.सी, सुन्दरहरैचा, मोरङसँग उपाधिका लागि खेल्नेछ । चतरा फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४५ हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ ।

Post Comments