News ऐतिहासिक फाइनलमा नेपाल
गोलनेपाल

काठमाडौं । खेलमा रोमाञ्चक पूनःरागमन गर्दै नेपाल जारी प्रतिष्ठित साफ च्याम्पियनसिपको फाइनलमा ऐतिहासिक रुपमा पहिलोपटक प्रवेश गर्न सफल भएको छ ।

बुधबार लिग चरणको अन्तिम तथा निर्णायक मानिएको खेलमा बंगलादेशससँग १–१ गोलको बराबरी खेल्दै नेपालले दक्षिण एसियाली फुटबलको कुम्भमेलामा ऐतिहासिक सफलता हात पारेको हो ।

माले सिटी स्थित नेशनल फुटबल स्टेडियममा भएको खेलमा फाइनल प्रवेशका लागि नेपाललाई जित वा बराबरीको खाँचो थियो भने बंगलादेशलाई जित वाहेक अर्को विकल्प थिएन ।

खेलमा बंगलादेशले सनसनीपुर्ण अग्रता समेत बनाएको थियो । खेलको शुरुवाततिरै नवौं मिनटमा कमजोर नेपाली रक्षापंक्तिको फाईदा उठाउँदै डिक्सभित्रबाट सुमन रेजाले हेड गोल गर्न सफल भएका थिए ।

खेलको शुरुवाती अग्रता बंगलादेशले अन्तिम केही मिनट जोगाउन सकेन । उता खेलमा शुरुवातबाटै आक्रमक रुपमा प्रस्तुत भएको नेपालले पनि गोलका लागि निरन्तर प्रयास जारी राख्यो ।

७९औं मिनटमा बंगलादेशका गोलरक्षक अनिसुर रहमान जिकोले दोहोरो पहेंलो कार्ड खाँदै छाडेपछि टोली दश खेलाडीमा खुम्चिन पुग्यो । नेपालले त्यसको फाईदा पनि उठाउँदै दबाब जारी राख्यो ।

फलस्वरुप अन्तिमतिर नेपालले पेनाल्टीको अवसर पायो । जसलाई ८८औं मिनटमा अन्जन बिष्टले कुनै गल्ती नगरी गोलमा परिणत गरेपछि नेपालको ऐतिहासिक साफ फाइनल खेल्ने सपना यथार्थमा परिणत भएको थियो ।

नेपालले १६ अक्टबुरमा फाइनल खेल्ने

ऐतिहासिक फाइनलमा पुगेको नेपालले अब १७ अक्टुबरका दिन उपाधि भिडन्तका लागि फेरि मैदानमा उत्रिनेछ । बुधबार राती नै हुने गत संस्करणका दुई फाइनिलस्ट टिम विजेता माल्दिभ्स र उपविजेता भारतबीचको खेलको नतिजाले यस संस्करणको फाइनल खेल्ने दोस्रो टोलीको टुंगो लाग्नेछ ।

 

Post Comments