News साफको फाइनलमा स्टिम्याक ‘डगआउट’मा बस्न नपाउने
गोलनेपाल

काठमाडौं । बुधबार भएको प्रतिष्ठित साफ च्याम्पियनसिपको लिग चरणको अन्तिम खेलमा भारतले आयोजक माल्दिभ्सलाई ३–१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्यो ।

खेलमा भारतलाई फाइनल प्रवेशका लागि निश्चित जितको खाँचो थियो भने माल्दिभ्सलाई बराबरी पनि प्रर्याप्त बन्ने थियो । तर कप्तान सुनिल क्षेत्रीले दुई तथा मनविर सिंहले एक गोल गरेपछि भारत उत्कृष्ट जितका साथ फाइनलमा पुग्न सफल भयो । माल्दिभ्सका लागि एक मात्र गोल अली अशफाकले पेनाल्टीबाट गरेका थिए ।
ि
फाइनल पुगेको सातपल्टको च्याम्पियन भारतमाथि अब मानसिक दबाब पनि छ । लिग चरणबाटै बाहिरिने संघारमा पुगेको भारतले नेपालमाथि १–० को कठिन जित निकालेपछि फाइनलसम्मको ढोका खुलेको थियो । त्यो खेलमा बराबरी खेलेको भए पनि भारतको समूह चरणबाटै बाहिरिने सम्भावना निश्चित प्रायः थियो ।

शनिबार हुने नेपाल विरुद्धको फाइनल खेल कठिन हुने भारतका सहायक प्रशिक्षक शनमुगम बैंकटेशले बताईसकेका छन् । माल्दिभ्स विरुद्धको खेलमा रातो कार्ड खाएका भारतका मुख्य प्रशिक्षक इगोर स्टिम्याक खेलपछिको पत्रकार सम्मेलनमा उपस्थित हुन सकेनन् । त्यति मात्र नभएर उनी फाइनलमा पनि ‘डगआउट’ मा बस्न पाउने छैनन् ।

यसको अर्थ फाइनलमा भारतीय खेलाडीहरुलाई केही हदसम्म प्रशिक्षक स्टिम्याकको अभाव पनि खट्किने निश्चित छ । माल्दिभ्स विरुद्धको खेलमै भारतका मुख्य डिफेन्डर शुभाषिस बोसले पनि रातो कार्ड खाँदै मैदान छाडेका थिए । त्यसैले भारतको रक्षापंक्ति पनि केही फितलो हुने अनुमान गरिएको छ ।

 

Post Comments