News सिजनको पहिलो ‘एल क्लासिको’ (बार्सिलोना र रियल म्याड्रिड) मा कसले मार्ला बाजी ?
गोलनेपाल

स्पेनिस ला लिगाको नयाँ सिजन २०२१÷२२ को पहिलो ‘एल क्लासिको’ अर्थात बार्सिलोना र रियल म्याड्रिडबीचको भिडन्त आइतबार हुँदैछ ।

एल क्लासिको क्याटलान क्लब बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा नेपाली समय अनुसार साँझ ८ः०० बजे हुनेछ । नयाँ सिजनमा रियल म्याड्रिडले उच्च प्रदर्शनलाई निरन्तरता दिइरहेको छ । बार्सिलोना भने आफ्नो पुरानो लयमा फर्कन सकेको छैन ।

लिगमा अहिले दुवै टोलीले आठ खेल सकेका छन् । रियलले बार्सिलोनालाई दुई अंकले पछि पारेको अवस्था छ । यस्तोमा बार्सिलोना घरेलु मैदानमा रियललाई हराएर अगाडी बढ्ने दाउमा छ । रियल पनि बार्सिलोनालाई घरमै हार चखाउन चाहन्छ ।

रियल पाँच जित, दुई बराबर र एक हार बेहोर्दै १७ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । चार जित, तीन बराबरी र एक हार खेपेको बार्सिलोना १५ अंक सहित सातौं स्थानमा छ । शीर्षस्थानमा रहेको रियल सोसिडाडको नौ खेलबाट २० अंक छ ।

चोटका कारण प्रमुख खेलाडीहरु मैदान बाहिर रहेकाले पनि बार्सिलोना सुरुवाती खेलमा समस्यामा परेको थियो । यता रियलले आठौं राउन्डमा स्पान्योलसँग २–१ को हार खेप्नु बाहेक अन्य खेलमा सानदार प्रदर्शन गरिरहेको छ । रियलका कप्तान करिम बेन्जेमा यतिवेला करिअरकै उच्च लयमा देखिएका छन् । उनले लिगको सुरुवाती आठ खेलमा नौ गोल र सात असिस्ट दिएका छन् । सर्वाधिक गोल कर्ताको शीर्ष सुचीमा रहेका बेन्जेमालाई भिनिसियस जुनियरको उतिकै साथ छ । भिनिसियसले पनि पाँच गोल सहित दुई असिस्ट दिएका छन् ।

यता बार्सिलोनामा मेम्फिस डिपायले सानदार प्रदर्शन गरिरहेका छन् । यसै सिजन लियोनबाट बार्सिलोना आएका डिपायले बार्सिलेनामा लियोनल मेस्सीको अभावलाई पूर्ति गरेका छन् । उनले आठ खेलमा चार गोल सहित दुई असिस्ट दिएका छन् ।

बार्सिलोनाले एल क्लासिको भिडन्तमा अर्जेन्टिनी स्ट्राइकर सर्जियो एग्युरो र औसमाने डेम्वेलेलाई समेत उतार्ने तयारी गरेको छ । यसअघि यी दुई स्टार घाइते थिए । यसै सिजन इङ्लिस क्लब म्यानचेस्टर सिटीबाट बार्सिलोना आएका एग्युरो सुरुवातमै अभ्यासको क्रममा घाइते भएका थिए ।

रियल र बार्सिलोनाबीचको पछिल्लो २९ खेलमा बार्सिलोना १६ खेलमा विजयी भएको छ । रियलले १३ खेल जितेको छ, भने १० खेल बराबरीमा सकिएको छ । रियल पछिल्लो पटक सन् २०१९ को मार्चमा घरेलु मैदानमा १–० ले पराजित भएको थियो । त्यसयता पछिल्लो चार खेलमा रियल बार्सिलोनासँग अपराजित छ । पछिल्ला चार भिडन्तमा रियलले तीन खेल जितेको छ । एक खेल बराबरीमा सकिएको छ ।

ला लिगाको एल क्लासिकोमा हालसम्म यी दुई टोलीबीच एक सय ८२ खेल भएको छ । जसमा रियलले ७५ खेल जितेको छ । बार्सिलोनाले ७२ खेल जितेको छ । ३५ खेल बराबरीमा सकिएको छ ।

सबै खाले एल क्लासिको भिडन्तमा यी दुई टोलीबीच कूल दुई सय ४६ आधिकारिक खेल भएका छन् । जसमा रियलले ९८ खेल जितेको छ । बार्सिलोनाले ९६ खेल आफ्नो पक्षमा पारेको छ । ५२ खेल बराबरीमा सकिएको छ ।

सबै खाले एल क्लासिको खेलमा रियलले ४१० गोल गरेको छ भने बार्सिलोनाले ४०१ गोल गरेको छ । रियल र बार्सिलोनाबीचको आइतबार हुने खेल दुई सय ४७औं आधिकारिक एल क्लासिको भिडन्त हुनेछ । यसमा कस्ले बाजी मार्ला ? भन्ने चासो र कौतुहलता विश्वभरका फुटबल समर्थकमा छ ।

एल क्लासिकोको इतिहास
अन्तर्राष्ट्रिय क्लब फुटबलमा दुई चिर प्रतिद्वन्द्वी स्पेनिस फुटबल क्लब बार्सिलोना र रियल म्याड्रिडबीच हुने भिडन्तलाई ‘एल क्लासिको’ भनिन्छ । स्पेनका यी दुई विश्व महारथी क्लबबीचको भिडन्तले विश्वभर तहल्का नै मच्चाउने गर्दछ ।

यो युइएफए यूरोपियन च्याम्पियनसिपको फाइनल पछाडी सबैभन्दा बढी हेरिने क्लब स्तरीय फुटबल खेल हो । यी दुई क्लबहरु स्पेनिस ला लिगा, कोपा डेल रे, स्पेनिस सुपर कप, यूरोपियन च्याम्पियन्स लिग, यूरोपियन सुपर कपलगायत प्रतियोगिताहरुमा भिड्ने गर्दछन् ।

एल क्लासिको प्रतियोगिता इतिहासका कारण पनि प्रख्यात छ । ऐतिहासिक दृष्टिबाट हेर्दा बार्सिलोना र रियल म्याड्रिड स्पेनका दुई ठुला शहर हुन् । जहाँ दुई फरक राजनीतिक मत पाइन्छ ।

सामान्यतः बार्सिलोना समर्थक क्याटालोनिया समर्थक छन् भने रियल म्याड्रिड समर्थक स्पेनिस सरकारनिकट हुन्छन् । यी दुवै क्लब संसारकै सबभन्दा धनी र सफल क्लब मानिन्छन् ।

पहिले क्याटालोनियालाई तानाशाही शासन प्रयोग गरी त्यहाँका नागरिकलाई असमान र अत्याचार गरिन्थ्यो । तसर्थ त्यहाँका नागरिकहरुले राज्यसँग बदला लिने एकमात्र उपाय म्याड्रिडको प्रतिनिधित्व गर्ने क्लबलाई हराउनु राखेका हुन्छन् ।

१६ बर्षपछि मेस्सी र रोमोसविनाको एल क्लासिको

एल क्लासिकोमा अहिलेसम्म सबै भन्दाबढी खेल खेल्ने खेलाडी बार्सिलोनाका लियोनल मेस्सी र रियल म्याड्रिडका सर्जियो रामोस हुन् ।

मेस्सी र रामोसले सर्वाधिक ४५ पटक एल क्लासिको खेलेका छन् । संयोगबस यी दुवै स्टार यस सिजन एल क्लासिकोमा देखिने छैनन् । मेस्सी र रामोस यसै सिजन स्पेन छाडेर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा आवद्ध भएका छन् ।

कुनै बेला एल क्लासिकोमा एक अर्काका प्रतिद्वन्द्वी अहिले एउटै क्लबबाट खेलिरहेका छन् । सन् २००५ देखि लगातार रियलमा रहेका रामोस र सन् २००० देखि बार्सिलोनाको जुनियर टोलीहुँदै २१ बर्ष बार्सिलोनामा विताएका मेस्सीले यसै सिजन स्पेन छाडेका हुन् ।

मेस्सी र रामोस नहुँदा कतिपयले एल क्लासिकोको खल्लो हुने अनुमान समेत गरेका छन् । तर अधिकांश समर्थकले भने कुनै खेलाडी नहुँदैमा खेलको महत्व र त्यसको इतिहास नमेटिने तर्क गरिरहेका छन् । रियलका कप्तान करिम बेन्जेमा एल क्लासिकोको इतिहास पुरानो रहेकोले यसको चर्चा दिन प्रतिदिन चुलिँदै गएको बताउँछन् ।

बेन्जेमा भन्छन्, ‘एल क्लासिकोको इतिहास धेरै पुरानो छ । क्लबमा कुनै खेलाडी परिवर्तन हुँदैमा त्यसको रोमाञ्चकता कम हुन्छ भन्ने रहन्न । कस्ले बार्सिलोना र रियल छाड्यो भन्ने कुराले भन्दा इतिहास र यसको प्रतिस्पर्धा रोचक पक्ष हो । एल क्लासिको अझै विश्व फुटबलमा उत्कृष्ट खेलको रुपमा छ ।’

तीन बर्षअघि पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो रियल छाडेर इटालियन क्लब युभेन्ट्स जाँदा पनि यस्तै तर्क र चर्चा भएको थियो । तर एल क्लासिकोको महत्व रत्तिभर घटेको छैन ।

प्रतक्ष प्रशारण डिसहोम एक्सन स्पोर्ट्स एचडीमा
विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । बार्सिलोना र रियल म्याड्रिडबीचको ‘एल क्लासिको’ भिडन्त पनि एक्सन स्पोर्ट्स एचडी २ मा प्रतक्ष प्रशारण हुनेछ ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका हरेक खेलहरु एक्सन स्पोर्ट्स एचडी २ मा प्रशारण भईरहेको छ । त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

Post Comments