News थ्रीस्टारमा आवद्ध भए हेमन्त
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको मिति नजिकिदै गर्दा त्यसका लागि ए डिभिजन क्लबहरुले पनि खेलाडी अनुवन्धदेखि लिएर अन्य आवश्यक तयारीहरुलाई तीव्र पारेका छन् ।

यसैक्रममा नेपाली फुटबलको सफल क्लब मध्ये एक रुस्लान थ्रीस्टार क्लबले चर्चित पूर्वेली मिडफिल्डर हेमन्त थापा मगरले अनुवन्ध गरेको छ । क्लबका अनुसार हेमन्तले थ्रीस्टारसँग दुई बर्षका लागि सम्झौता गरेका हुन् । यद्यपि दुई पक्षबीच भएको आर्थिक सम्झौताबारे भने खुलाइएको छैन ।

घरेलु फुटबलमा आफ्नो नाम स्थापित गराइसकेका हेमन्तले नेपालको यु–१४ र यु–१६ टोलीको कप्तानी समेत गरिसकेका छन् । गत सिजन च्यासलका लागि लिग खेलेका हेमन्त थ्रीस्टारमा आवद्ध हुन पाउँदा खुशी र उत्साहित पनि छन् ।

राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय क्लब फुटबलमा पनि सफलता हासिल गरेको थ्रीस्टारमा आवद्ध भएर आफूलाई थप राम्रो गर्ने अवसर मिलेको हेमन्तको भनाई थियो । स्मरण रहोस, थ्रीस्टारमा बिक्रम लामा, अनन्त तामाङ, डोना थापा, सन्जोक राई जस्ता युवा र अनुभवी खेलाडीहरु पनि आवद्ध छन् ।

हेमन्तले घरमै सम्पन्न १३औं सागको पुरुष फुटबलतर्फ स्वर्ण पदक समेत जितिसकेका छन् । मिडफिल्डमा आफूलाई राम्रोसँग मैदानमा अभ्यस्त गराएर प्रतिस्पर्धा गर्न माहिर हेमन्तले आउँदै गरेको नयाँ सिजनको ए डिभिजन लिगमा पनि राम्रो गर्ने विश्वास व्यक्त गरेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यहि कार्तिक २९ गतेदेखि शुरु हुन गईरहेको ए डिभिजन लिगमा कुल १४ क्लबहरुले सहभागिता जनाउँदै छन् । यसपटक लिग विजेताले उपाधिसहित नगद ७५ लाख हात पार्नेछ ।

 

Post Comments