News अष्ट्रेलिया जाने सूची मै थपिए अनिल
गोलनेपाल

काठमाडौं । नेपालका पूर्व युथ तथा चर्चित ए डिभिजन खेलाडी अनिल महर्जनले पनि आफ्नो सुनिश्चित भविष्यका लागि अष्ट्रेलियालाई नै अन्तिम गन्तव्यका रुपमा रोजेका छन् । पछिल्लो समय अष्ट्रेलिया जाने राष्ट्रिय खेलाडीहरुको सूची लम्बिदै गर्दा सोही सूचीमा अनिलको नाम थपिएको हो ।

केही महिना अघि सम्पन्न दोस्रो नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी फुटबल क्लबका लागि खेल्दै लिग उपाधि समेत जितेका अनिलले गत संस्करणको ए डिभिजन लिग थ्रीस्टार क्लबका लागि पनि खेलेका थिए । नेपालको राष्ट्रिय युथ टोलीबाट पनि खेलिसकेका अनिलले अन्ततः विदेशिनुलाई अन्तिम विकल्प देखे ।

अनिलले अष्ट्रेलियामा खेल्ने नयाँ क्लब पनि पाइसकेका छन् । उनले त्यहाँ मेलबर्नमा नेपाली समुदायहरुद्वारा स्थापित र सञ्चालित द हिमालयन टाईगर्स फुटबल क्लबबाट खेल्नेछन् ।

त्यसो त, नेपाली खेलाडीहरु अस्थिर र अनिश्चित नेपाली फुटबलका कारण दिनहुँ जसो विदेश पलायन भईरहेका छन् । राष्ट्रियस्तरका बाहेक सम्भावना बोकेका स्थानीय खेलाडहिरु पनि छन्, जो विदेश जाने सोंचमा छन् अनि गईरहेका छन् ।

सम्बन्धित निकायको कमजोर नीति र फुटबलप्रति खेलाडीहरुको मौलाएको निराशा कै कारण अहिले धेरैजसो खेलाडीहरु आफ्नो र परिवारको सुनिश्चित भविष्यका लागि विदेश पलायन भईरहेका छन् । र, यो क्रम जारी रहने निश्चित पनि छ ।

Post Comments