
काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगतर्फ दुई विभागीय टोली नेपाल आर्मी र नेपाल पुलिस क्लबले समान अन्तरको जित निकालेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई २–० ले हरायो । आर्मीको जितमा दुवै गोल दोस्रो हाफमा नाटकीय रुपमा भएको थियो ।
आर्मीको जितमा ६०औं मिनटमा भरत खवासले पहिलो गोल गरे भने लगतै ६४औं मिनटमा टेक बुढाथोकीले दोस्रो गोल गरे जुन खेलको निर्णायक पनि बन्यो ।
दश खेलाडीमा सिमित पुलिस पनि सफल
त्यस्तै दशरथ रंगशालामा भएको दोस्रो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले दश खेलाडीमा सिमित हुनुका बावजुद सरस्वती युथ क्लबलाई समान २–० ले हरायो ।
पुलिसको जितमा ४६औं मिनटमा सुमन लामाले पहिलो गोल गरे भने ७९औं मिनटमा भोला सिलवालले दोस्रो गोल गरेका थिए । उता पहिलो हाफको इन्जुरी समयमा अन्जन राईले रातो कार्ड खाँदै मैदान छाडे तापनि सरस्वतीले त्यसको फाईदा लिन सकेन ।