News बेल्जियम पनि विश्वकपका लागि छनौट
गोलनेपाल

काठमाडौं । फिफा विश्व वरियताको शिर्ष स्थानमा रहेको बेल्जियम पनि आगामी बर्ष कतारमा हुने फिफा विश्वकपका लागि छनौट हुन सफल भएको छ ।

युरोपियन छनौटतर्फ समूह ई मा रहेको बेल्जियमले शनिबार इस्टोनियामाथि ३–१ को जित निकाल्दै विश्वकपको टिकट काट्न सफल भयो । ब्रसेल्स स्थित घरेलु मैदानमा भएको खेलको ११औं मिनटमा क्रिष्टियन बेन्टेकेले बेल्जियमका लागि पहिलो गोल गरे ।

त्यस्तै दोस्रो हाफको ५३औं मिनटमा यानिक करास्कोले घरेलु टोलीका लागि दोस्रो गोल थपे । यद्यपि ७०औं मिनटमा इस्टोनियाका लागि इरिक सोर्गाले गोल गर्दै टोलीलाई खेलमा फर्काउन प्रयास गरे तापनि सफल भएनन् । गोल खाएको चार मिनट लगनै थोर्गन हजार्डले तेस्रो गोल गर्दै बेल्जियमको जित सुनिश्चित गरेका थिए ।

यो जितसँगै ७ खेलबाट १९ अंक जोडेको बेल्जियम समूह ई को शिर्ष स्थानमा छ र विश्वकपका लागि छनौट भएको छ । त्यस्तै बेलारुसलाई ५–१ ले हराएको वेल्स १४ अंकका साथ दोस्रो स्थानमा छ र विश्वकप छनौटको सम्भावना कायम राखेको छ । ११ अंकका साथ चेक गणतन्त्र तेस्रो स्थानमा छ ।

४ र ३ अंक जोडेका क्रमशः इस्टोनिया र बेलारुस भने छनौट प्रतियोगिताबाट बाहिरिएका छन् ।

Post Comments