दुहबी । सहज जित हात पार्दै भरौल भेट्रान क्लब, सुनसरी प्रथम दुहबी भेट्रान कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अन्तिम क्वाटरफायनलमा आयोजक दुहबी भेट्रान एफसी (निलो) लाई ४–१ ले हराउँदै भरौल अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । भरौलको जितमा तिर्थ याक्सोले ह्याट्रिक गरे ।
श्री सरस्वती उमाविको खेलमैदानमा भएको खेलको पाँचौं मिनटमे तिर्थले भरौलका लागि गोलको खाता खोलेका थिए । यद्यपि १४औं मिनटमा आयोजक दुहबीका लागि दुलीचन्द चौधरीले बराबरी गोल फर्काउन सफल भए ।
बराबरी गोल खाए लगतै आक्रमक बनेको भरौलका लागि ३१औं मिनटमा निर्मल तामाङले दोस्रो गोल गरे । त्यस्तै ४७ र ४८औं मिनटमा तिर्थ याक्सोले लगातार दुई गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे भने भरौललाई पनि शानदार जित दिलाए ।
खेलको म्यान अफ द म्याच पनि ह्याट्रिककर्ता तिर्थ याक्सो नै घोषित भए । उनलाई दुहबी नगरपालिका वार्ड नम्बर ४ का अध्यक्ष राजन बस्नेतले नगदसहित पुरस्कृत गरे ।
प्रतियोगिता अन्तरगत मंसिर १ गते बुधबारको पहिलो सेमिफाइनल खेल आयोजक दुहबी भेट्रान एफसी (रातो) र हाम्रो धरान भेट्रान क्लबबीच हुने आयोजकले जनाएको छ ।
दुहबी भेट्रान फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि मंसिर ४ गतेका दिन हुनेछ ।