News बहुप्रतिक्षित ए डिभिजन लिग आजदेखि
गोलनेपाल

काठमाडौं । महामारीले सूस्ताएको नेपालको फुटबल क्षेत्रलाई आजदेखि शुरु हुन गईरहेको बहुप्रतिक्षित कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगले फेरि ब्युँताउने प्रयास गर्नेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा आज नेपाल कै पुरानो क्लब मध्ये एक फ्रेण्डस क्लब र यसै सिजन शिर्ष लिगमा बढुवा भएको सातदोबाटो युथ क्लब भिड्दै छन् । जुन खेल दशरथ रंगशालामा नेपाली समयअनुसार ४ः४५ बजेदेखि शुरु हुनेछ ।

पाँच दशकको इतिहास बोकेको फ्रेण्डसमा मृगेन्द्र मिश्र प्रशिक्षकका रुपमा छन् भने कप्तानी सुरज बिकले सम्हालेका छन् । फ्रेण्डसका लागि यी दुवै यस सिजन नयाँ अनुहार पनि हुन् । साथै उनीहरु दुवैसँगै शिर्ष फुटबलको राम्रो अनुभव पनि छ । र उनीहरु उत्साहित पनि छन् ।

उता सातदोबाटोको प्रशिक्षकीय जिम्मेवारी भने अनुभवी र घरेलु फुटबलमा सफल मानिएका मेघराज केसीले पाएका छन् । त्यस्तै कप्तानमा पनि लामो समय शिर्ष लिग खेलिरहेका हिमालयन शेर्पा क्लबका पूर्व कप्तान तथा डिफेन्डर मान बहादुर तामाङ छन् । त्यसवाहेक सातदोबाटोले शिर्ष लिगमा राम्रै प्रभाव छाडेका केही स्वदेशी तथा विदेशी खेलाडीहरुलाई पनि अनुवन्ध गरिसकेको छ ।

समग्रमा दुवै टोली आज लिगको शुरुवात सुखद रुपमा गर्न चाहन्छन् । जसको अर्थ हुन्छ, निश्चित जित । अर्थात आज दशरथ रंगशालामा दुवै टोली निश्चित जित कै लागि भिड्ने छन् । जुन खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान पनि धेरैले गरेका छन् ।

यसपल्ट लिग विजेताले उपाधिसहित नगद ७५ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्नेले ५० लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि २५ लाख पाउने एन्फाले घोषणा गरिसकेको छ ।

कतार एयरवेज कै निरन्तरता, चार स्थानमा लिग, सप्ताहन्त भिडन्त

लिगको मुख्य प्रायोजकामा प्रतिष्ठित कतार एयरवेजले नै निरन्तरता पाएको छ । लिगका खेलहरु प्रत्यक्ष प्रसारण गर्ने अधिकार कान्तिपुर टेलिभिजनले पाएको छ ।

त्यस्तै पहिलोपटक लिगका खेलहरु चार फरक स्थलमा हुने एन्फाले जनाएको छ । साथै लिगका सबै खेललहरु प्रत्येक साताको शुक्रबार, शनिबार र आइतबार हुने नौलो थालनी पनि गरिएको छ । जुन नेपालको लिग फुटबलमा राम्रै संकेत पनि हो ।

त्यति मात्र नभएर लिगमा उपस्थिति जनाउने दर्शकहरुले चिया, कफी जस्ता केही रिफ्रेसमेन्ट सुविधा पाउने पनि एन्फाले घोषणा गरिसकेको छ ।

सिजनल टिकट १० हजार

करिब ४ महिनासम्म चल्ने लिगका लागि एन्फाले सिजनल टिकटको मुल्य पनि तोकेको छ । लिग अवधिभर कुल ९१ म्याच हुनेछन् । जसका लागि सिजनल टिकट मुल्य १० हजार तोकिएको छ ।

त्यस्तै सामान्य टिकट मुल्य १०० र भिईपीतर्फको टिकट मुलय ५०० तोकिएको छ । त्यस्तै दर्शकहरुले सजिलो पेबाट पनि अनलाईन रुपमै लिगको टिकटहरु खरिद गर्न सकिने एन्फाले जनाएको छ ।

Post Comments