![](https://nepali.goalnepal.com/uploads/news/1638027392.jpg)
इलाम । किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको ६८औं जन्मोत्सवको अवसर पारेर शनिबारदेखि शुरु आत्मानन्द कप नकआउट फुटबल प्रतियोगितामा घरेलु टोली माङ्सेबुङ गाउँपालिका खेलकुद विकास समितिले विजयी शुरुवात गर्यो ।
माङ्सेबुङ, इलाम स्थित आत्मानन्द खेलमैदानमा भएको उद्घाटन खेलमा माङ्सेबुङले गोंधुली क्लब, धरान सुनसरीलाई ३–१ ले हराउँदै विजयी शुरुवात गरेको हो । साथै यो जितसँगै माङ्सेबुङ प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।
खेलमा माङ्सेबुङका लागि प्रविन राईले २ गोल गरे भने निर्मल राईले थप एक गोल गरे । उता पराजित गोंधुलीका लागि विवश सुनुवारले एक मात्र सान्त्वना गोल गरे ।
खेलको म्यान अफ द म्याच भने पराजित गोंधुलीका सौजन राई घोषित भए । प्रतियोगिता अन्तरगत मंसिर १२ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल बीबीएफसी, दमक झापा र रेड हर्ष इलामबीच हुने आयोजकले जनाएको छ ।
आत्मा पवित्र हक्चात यक्चुम, इलामको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख १६८ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २ लाख १६८ रुपैयाँ प्राप्त गर्नेछ ।
फुटबल संघ, इलामको प्राविधिक सहयोग रहेको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाईरहेका छन् । प्रतियोगिताको फाइनल खेल भने यहि मंसिर १७ गतेका दिन हुनेछ ।