News वार्ड नम्बर ३ र २० क्वाटरफाइनलमा
गोलनेपाल

इटहरी । यहाँ जाँरी इटहरी फुटबल रनिङ कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तरगत सोमबार वार्ड नम्बर ३ र वार्ड नम्बर २० ले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।

इटहरी स्थित क्षेत्रीय रंगशालामा भएको पहिलो खेलमा वार्ड नम्बर ३ ले वार्ड नम्बर ९ लाई २–१ ले हरायो । वार्ड नम्बर ३ को जितमा खेलको २०औं मिनटमा सनम लिम्बुले पहिलो गोल गरे भने ४४औं मिनटमा बिशु श्रेष्ठले दोस्रो गोल गरेका थिए ।

उता वार्ड नम्बर ९ का लागि ६१औं मिनटमा समीर राईले एक मात्र सान्त्वना गोल फर्काए । खेलमा पराजित वार्ड नम्बर ९ का सुमित चौधरी म्यान अफ द म्याच घोषित भए । उनलाई नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर ३ का सदस्य मन्त बहादुर तामाङले एक थान सेलो फोनसहित पुरस्कृत गरे ।

त्यस्तै दोस्रो खेलमा वार्ड नम्बर २० ले वार्ड नम्बर १८ लाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । वार्ड नम्बर २० का लागि ११औं मिनटमा सुमन लिम्बुले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच पनि निर्णायक गोलकर्ता लिम्बु नै घोषित भए । उनले पनि पुरस्कार वापत एक थान फोन सेट हात पारे ।

यो जितसँगै वार्ड नम्बर ३ र २० प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेका छन् । प्रतियोगिता अन्तरगत मंसिर १४ गते मंगलबारका दुई खेलहरु वार्ड नम्बर २ र वार्ड नम्बर ८ तथा वार्ड नम्बर ४ र वार्ड नम्बर १६ बीच हुने आयोजकले जनाएको छ ।

इटहरी फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि मंसिर २० गतेका दिन हुनेछ ।

Post Comments