News फाक्तेप गोल्डकप: इलामसँग हारेको खेलमा धरानको पुनरागमन जित
रमेश समदर्शी

हार व्योहोरिसकेको अवस्थालाई उल्टाउँदै धरान सिटी एफसी सुनसरी यहाँ जारी एनी फाक्तेप गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

फाक्तेप खेल मैदानमा आज (सोमबार) भएको तेस्रो क्वाटरफाइनल खेलमा इलामको माइभ्याली एफसीलाई टाइब्रेकरमा पराजित गर्दै धरान सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समय २-२ गोलको बराबरी भएपछि धरानले टाइब्रेकरमा ४-२ गोलअन्तरमा इलाममाथि बाजी मारेको हो । टाइब्रेकरमा धरानका गाेलरक्षक राजिव खड्काले इलामकाे २ प्रहार राेकेका थिए ।

निर्धारित समयसम्म इलाम २-० गोलले हाबी थियो । तर, इन्जुरी समयको ३ मिनेटभित्र धरानले २ गोल गर्दै खेलमा कमब्याक गरेको हो ।

पहिलो हाफ गोलरहित खेलेको दुवै टोली दोस्रो हाफमा आक्रामकरुपमा प्रस्तुत भएका थिए । सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । इलामका लागि दोस्रो हाफको १६ मिनेटमा कप्तान विक्रम राईले गोल गर्दै अग्रता दिलाएका थिए ।

यस्तै, पासाङ शेर्पाले ३४औँ मिनेटमा गोल गर्दै इलामको अग्रता दोब्बर बनाएका थिए । तर, सुरुवाती अग्रता जोगाउन नसक्दा इलामले हार ब्यहोरेको थियो । इन्जुरी समयको ३ मिनेटभित्र धरानले २ गोल गरेर खेलमा फर्कियो ।

धरानका लागि पहिलो गोल विनोद राईले गरेका थिए भने दोस्रो गोल विवेक राईले गोल गरेर बराबरी गरेका थिए । कल्पना गर्नै नसकेको खेल पस्केर धराने टोलीले दर्शकको मन जित्न सफल भएको थियो ।

धरानका पहिलो गोलकर्ता विनोद राई म्यान अफ दी म्याच घोषितहुँदै नगद ३ हजार र ट्रफी पाउन सफल भए । निर्धारित समय सकिनलाग्दा इलामले एकैपटक ३ खेलाडी परिवर्तन गरेको थियो । त्यसपछि ४ मिनेट इन्जुरी समय थपिएको थियो ।

फाक्तेप फुटबल क्लब शिवसताक्षी ७ को आयोजनामा भएको प्रतियोगितामा मंगलबार आयोजक र तुर्केनी एफसी काँकरभिट्टाबीच अन्तिम क्वाटरफाइनल खेल हुनेछ ।

 प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार र उपविजेताले ५१ हजार र ट्रफी पाउनेछ । प्रतियोगिताको फाइनल खेल मंसिर १८ गते हुनेछ ।

Post Comments