News मार्टिन्सको ह्याट्रिकसँगै सातदोबाटोको सनसनी जारी
गोलनेपाल

काठमाडौं । यसै सिजन शिर्ष लिगमा बढुवा भएको सातदोबाटो युथ क्लबले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिने क्रममा शुक्रबार सशस्त्र प्रहरीको एपिएफ क्लबमाथि ४–१ को जित दर्ता गर्यो ।

शहिद स्मारक ए डिभिजन लिगको दोस्रो चरणमा थ्रीस्टारलाई हराएको सातदोबाटोले त्यो जितको यात्रालाई तेस्रो चरणमा पनि कायम राख्यो । तेस्रो चरणको दोस्रो खेलमा सातदोबाटोका लागि अजयी मार्टिन्सले लिगको पहिलो ह्याट्रिक गरे । मार्टिन्सले खेलको ४२औं मिनटमा पहिलो गोलको खाता खोले भने पहिलो हाफ कै इन्जुरी समयमा दोस्रो गोल थपे ।

४८औं मिनटमा विकी तामाङले एपिएफका लागि गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे तर सफल भएनन् । ५०औं मिनटमा सातदोबाटोका लागि सुशिल राईले तेस्रो गोल गर्दा एपिएफ निराश बन्न पुग्यो । लगतै ५८औं मिनटमा मार्टिन्सले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे भने टोलीको जित पनि सुनिश्चित गरे ।

खेलमा ह्याट्रिक गरेका सातदोबाटोका मार्टिन्स म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । साथै सातदोबाटोले खेल जिते वापत म्याच मनी ५० हजार पनि हात पार्यो ।यो जितसँगै ३ खेलबाट ७ अंक जोडेको सातदोबाटो शिर्ष स्थानमा पुगेको छ । पराजित एपिएफ भने अंकविहीन रुपमा पुछारमा छ ।

थ्रीस्टारको बराबरी

त्यस्तै शुक्रबार नै भएको पहिलो खेलमा उपाधिको दावेदार मानिएको पूर्व विजेता रुस्लान थ्रीस्टार क्लबले फ्रेण्डस क्लबसँग १–१ को बराबरी खेल्दै अंक बाँड्यो । यो नतिजापछि ३ खेलबाट ४ अंक जोडेको थ्रीस्टार तेस्रो स्थानमा छ । उता फ्रेण्डस भने २ अंकका साथ दशौं स्थानमा छ ।

Post Comments