News प्रतिष्ठित झापा गोल्डकप फागुनमा, विजेतालाई १२ लाख
रमेश समदर्शी

बिर्तामोड । प्रतिष्ठित झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको पाँचौं संस्करण आउँदो फागुन अन्तिम सातादेखि हुने भएको छ ।

गोल्डकप कार्यसमितिको सोमबार बसेको बैठकले प्रतियोगिताको पाँचौं संस्करण गर्ने निर्णय गरेको हो । स्मरण रहोस, कोभिड–१९ महामारीका कारण पछिल्लो दुई बर्ष प्रतियोगिता आयोजना हुन सकेको थिएन ।

मोफसलमा सर्वाधिक व्यस्त रहने झापाको फुटबल गतिविधीलाई सक्रिय राख्ने र जिल्लालाई फुटबल हबकै रुपमा चिनाउने उद्देश्यका साथ झापा गोल्डकप वार्षिक रुपमा आयोजना हुँदै आइरहेको छ ।

आयोजकले फागुन २१ देखि ३० गतेसम्म झापा गोल्डकपको पाँचौं संस्करण आयोजना गर्ने गरि तयारी शुरु गरेको जनाएको छ । साथै त्यसका लागि आयोजकले अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको आवश्यक सल्लाहले अन्तिम निर्णय लिने बताएको छ ।

त्यस्तै प्रतियोगिताको पुरस्कार राशीमा भने अघिल्लो संस्करण कै पुरस्कार राशीलाई निरन्तरता दिइने आयोजकले जनाएको छ । विजेताले उपाधिसहित १२ लाख हात पार्नेछ भने उपविजेताले ६ लाख पाउने आयोजकले जानकारी दियो ।

बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगितामा नेपाल र विदेशी क्लब गरि कुल १० टोलीहरुले सहभागिता रहने बताइएको छ ।

Post Comments