News बंगलादेशसँग बदला लिने दाउमा नेपाल
गोलनेपाल

काठमाडौं । आजदेखि शुरु हुन गईरहेको साफ यु–१९ महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले साविक विजेता तथा आयोजक बंगलादेशससँग खेल्दैछ ।

रोचक कुरा, यी दुवै टोली भुटानमा सम्पन्न प्रतियोगिताको पहिलो संस्करणको फाइनलिस्ट समेत हुन् । थिम्पुमा भएको फाइनल भिडन्तमा नेपाललाई ०–१ ले हराउँदै बंगलादेश च्याम्पियन बनेको थियो ।

त्यति मात्र नभएर त्यो प्रतियोगितामा यी दुवै टोली एकै समूहमा थिए । समूह चरणमा पनि नेपालले बंगलादेशससँग २–१ को स्तब्धपुर्ण हार बेहोरेको थियो । आज त्यहि दुई हारको बदला लिने दाउमा छ नेपाल ।

ढाका स्थित बिर सेरेष्ठ शहिद सिपाही मोस्तफा कमल स्टेडियममा हुने आजको दोस्रो खेलमा नेपाल र आयोजक बंगलादेश भिड्दै छन् । नेपाली समयअनुसार खेल ६ः४५ बजेदेखि शुरु हुँदैछ ।

प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीले आ–आफ्नो दावेदारीता प्रस्तुत गरिसकेका छन् । नेपाली टोलीका मुख्य प्रशिक्षक हरिओम श्रेष्ठ तथा कप्तान अन्जना राना मगरले बंगलादेश र भारतलाई हराउने अनि उपाधिमा आफ्नो दावेदारीता बनाउने बताइसकेका छन् ।

राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा सबै टोलीको लक्ष्य जित र उपाधि नै छ । बंगलादेशलाई घरेलु मैदान र समर्थकको पनि साथ रहनेछ । तर नेपालले घरेलु टोलीलाई उसकै घरमा हराउँदै गत संस्करणमा बेहोरेको हारको बदला लिने योजनामा छ ।

प्रतियोगितामा दक्षिण एसियाका बंगलादेश, नेपाल, भारत, श्रीलंका र भुटान गरि कुल ५ टोलीहरुले सहभागिता जनाईरहेका छन् । लिग चरणका खेलहरु पश्चात प्रतियोगिताका शिर्ष दुई टोली २२ डिसेम्बरका दिन फाइनलमा भिड्ने छन् ।

स्मरणीय छ, आज नै हुने प्रतियोगिताको उद्घाटन खेलमा भने भुटान र श्रीलंका भिड्ने कार्यक्रम छ ।

 

Post Comments