News नेपालसँग श्रीलंका निरीह
गोलनेपाल

काठमाडौं । आफ्नो पहिलो खेलमा आयोजक तथा साविक विजेता बंगलादेशसँग गोलरहित बराबरी खेलेको नेपालले जारी साफ यु–१९ महिला च्याम्पियनसिपको दोस्रो खेलमा शानदार जित हात पारेको छ ।

ढाका स्थित विर सेरेष्ठ शहिद सिपाही मोस्तफा कमल स्टेडियममा भएको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकालाई ६–० को फराकिलो अन्तरले हरायो ।

नेपालको जितमा खेलको पाँचौं मिनटमै रश्मी घिसिङले पहिलो गोल गरिन् । त्यसको एक मिनट लगतै सबिता राना मगरले त्यो अग्रता दोब्बर पारिन । ४३औं मिनटमा कुसुम खतिवडाले नेपालका लागि तेस्रो गोल गरिन् ।

थप तीन गोल भने नेपालले दोस्रो हाफमा गर्यो । ४८औं मिनटमा रजनी थोकरले नेपालका लागि चौथो गोल गर्दा ५३औं मिनटमा सबिताले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरिन् । त्यसैगरी ८५औं मिनटमा रश्मीले फ्रिकिकबाट सुन्दर गोल गर्दै आफ्नो व्यक्तिगत दोस्रो गोल पूरा गरिन् भने नेपाललाई पनि फराकिलो जित दिलाईन् ।

यो जितसँगै नेपालको २ खेलबाट ४ अंक भएको छ । नेपालले प्रतियोगिता अन्तरगत आफ्नो आगामी खेल शुक्रबार भुटानसँग खेल्नेछ । उता लगातार तेस्रो हार बेहोरेको श्रीलंका अंकविहीन रुपमा पुछारमा छ र प्रतियोगिताबाट बाहिरिएको छ ।

दक्षिण एसियाका कुल ५ टोलीहरु सहभागि प्रतियोगिता राउण्ड रोबिन लिगका आधारमा जारी छ । प्रतियोगिताको शिर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्ने छन् । फाइनल खेल २२ डिसेम्बरका दिन हुने कार्यक्रम छ ।

 

Post Comments