पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा जारी दोस्रो कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप–२०८३ को उपाधिका लागि तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लब र इलामको रेड हर्ष एफसी इलामबीच फाइनल भिडन्त हुने भएको छ ।
बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा पथरी–११ लाई पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले पराजित गर्दै रेड हर्ष एफसी इलामले फाइनल यात्रा तय गरेको हो । निर्धारित समयमा दुबै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टीमार्फत गरिएको थियो ।
रोमाञ्चक खेलमा उत्कृष्ट प्रदर्शन गरेका रेड हर्षका विवेक सुनम ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले नगद रु. ७,००० सहित सम्मान प्राप्त गरे ।
यसअघि सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक यलम्बर युवा संस्थालाई ३–१ गोलले हराउँदै तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लब फाइनलमा प्रवेश गरिसकेको थियो ।
अब प्रतियोगिताको अन्तिम दिन बैशाख २५ गते शुक्रबार उपाधिका लागि म्याङलुङ स्पोर्टिङ क्लब तेह्रथुम र रेड हर्ष एफसी इलामबीच रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ ।
प्रतियोगिताको विजेताले नगद रु. ४,२५,५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. २,१२,७७७ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ ।
यलम्बर युवा संस्थाद्वारा त्रिशाली पूजा तथा मेलाको अवसरमा आयोजना गरिएको प्रतियोगितामा विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूलाई समेत आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश
- उत्कृष्ट कमब्याक गर्दै म्याङलुङ स्पोर्टिङ त्रिशाली गोल्डकपको सेमिफाइनलमा