News वार्ड नम्बर ६ लाई तेस्रो अध्यक्ष कपको उपाधि
गोलनेपाल

औराबनी । तेस्रो अध्यक्ष कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वार्ड नम्बर ६ ले जितेको छ । शनिबार गढी खेलमैदानमा भएको फाइनल भिडन्तमा वार्ड नम्बर ६ ले वार्ड नम्बर १ (ख) लाई सडन डेथमा ४–३ ले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको छिनोफानो टाईब्रेकरबाट गर्नुपरेको थियो । टाईब्रेकरमा पनि कुनै नतिजा ननिस्किए पछि खेल सडन डेथतर्फ धकेलिएको थियो । जसमा वार्ड नम्बर ६ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

विजेता बनेको वार्ड नम्बर ६ ले उपाधिसहित नगद ७१ हजार हात पार्यो भने उपविजेता वार्ड नम्बर १ (ख) ले ५१ हजारमा चित्त बुझाये । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वार्ड नम्बर ६ का गोलरक्षक सुजित उराउ घोषित भए । विजयी खेलाडीहरुलाई प्रमुख अतिथी प्रदेश नम्बर १ सुनसरी क्षेत्र नं. ३ (ख) सभासद अगम लाल चौधरी लगायत अन्य अतिथीहरुले पुरस्कृत गरेका थिए ।

गढी गाउँपालिका, औराबनी, सुनसरीको आयोजना तथा युथ फर प्लानिङ एण्ड क्लबको संयोजनमा गत मंसिर २५ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments